खेलकुदमन्त्री विमानस्थलमा अलपत्र



हेमन्त पौडेल, धनगढी

धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको धनगढी प्रिमियर लिग–२ (डीपीएल) उद्घाटनका लागि धनगढी विमानस्थलमा पुग्नुभएका युवा तथा खेलकुदमन्त्री जगत् विश्वकर्मा अलपत्र पर्नुभएको छ। शनिबार दिउँसो विमानस्थलमा मन्त्री विश्वकर्मालाई लिन आयोजक नपुग्दा अलपत्र पर्नुभएको हो। आयोजक नै नपुगेपछि कहाँ जाने भन्ने थाहा नभएकाले करिब आधा घण्टा मन्त्री विश्वकर्मा अलमलमा पर्नुभएको थियो। सर्वाधिक धनराशीको भनिएको डीपीएल उद्घाटन गर्न भन्दै आयोजकले मन्त्री विश्वकर्मालाई बोलाएको थियो तर आयोजक नै विमानस्थल नपुगेको र गाडीको पनि व्यवस्था नगरेकाले मन्त्रीलाई बोलाएर अपमान गरेको आरोप दलित अधिकारकर्मी चक्र विकले बताए।

‘मन्त्रीलाई खेल उद्घाटन गर्न बोलाउने अनि अपमान गर्ने यो आयोजकको गैरजिम्मेवार काम हो।’ –विकले बताए। धनगढी क्रिकेट संघका अध्यक्ष सुभास शाही आफैं विमानस्थलमा पुगेर स्वागत गर्नुको सट्टा उल्टै आफू पनि नजाने र गाडी पनि नपठाएर मन्त्रीलाई अपमान गरेको आफूले महसुस गरेको महिला नेतृ मीना सोवले बताइन्।
आयोजकले मन्त्री विश्वकर्माको बेवास्ता गरेपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको पहलमा मन्त्री विश्वकर्मालाई लिन सेती अञ्चल अस्पतालको गाडी पठाइएको थियो। मन्त्री विश्वकर्मा गाडी नपाएर विमानस्थलमा बसेको भन्ने खबर पाएपछि आयोजक समितिका संयोजक शाहीलाई फोन गरेर बुझ्दा उहाँ धनगढीमै भएको भनेपछि प्रजिअ रिजालले अस्पतालको गाडी पठाएका थिए। आयोजकले मन्त्री आउने बारेमा कुनै जानकारी नगराएकाले समस्या परेको भन्दै प्रजिअ रिजालले बताए– ‘मन्त्रीज्यू झण्डै आधा घण्टा अप्ठेरोमा पर्नुभएको हो’, प्रमुख जिल्ला अधिकारी रिजालले भन्नुभयो– ‘ढिलो भए पनि व्यवस्थापन गरेर प्रतियोगितास्थलसम्म पुर्याएका हौं।’

आयोजकले मन्त्री आउने बारे नेकपा एमाले कैलाली र पार्टीका नेतासँग समन्वयसमेत नगरेको एमाले कैलालीले जनाएको छ।

यता उद्घाटनस्थल पुगेर उद्घाटन मन्तव्य राख्दै गर्दा मन्त्री विश्वकर्माविरुद्ध दर्शकदीर्घाबाट विरोध भइरहेको थियो। उहाँ बोलिरहँदा हुटिङ भएको थियो। प्रदेश सरकारका मुख्यमन्त्री र अन्य मन्त्रीहरू भए पनि उनीहरूलाई उपेक्षा गर्दै उद्घाटनका लागि काठमाडौंबाट मन्त्री बोलाएको भन्दै विरोध भएको हो। तर, आयोजक समितिका संयोजक सुभास शाहीले भने मन्त्री आउने⁄नआउने कुनै निश्चित नभएकाले आफू विमानस्थल नगएको
बताएका थिए।

प्रतिक्रिया दिनुहोस्