अपांगतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा



काठमाडौं, (नेस)
नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो अपांगतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा ल्याएको छ। शनिबार एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पदमार्गको उद्घाटन गर्नु भएको छ। उक्त अवसरमा मन्त्री अधिकारीले यस्ता पदमार्गले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नेपाललाई चिनाउन मदत गर्ने तथा अब बन्ने संरचना अपागंमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।

कास्कीको नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिको व्यवस्थापनमा सञ्चालन हुने यो पदमार्ग पोखरा महानगरपालिकास्थित देउराली नौडाडा खण्डमा १ दशमलव ३ किलोमिटर लामो रहेको छ। पदमार्गको शुरूआत ऐतिहासिक भएको र यसले स्थानीय स्तरमा अपांगमैत्री संरचना र गतविधिको आवश्यकताबारे चेतना जगाउने, नेपालको पर्यटन प्रवद्र्धन गर्ने र नेपालजस्तो भौगोलिक विकटता भएको देशमा पनि पहुचयुक्त पदयात्रामार्ग बन्नुले संसारका अरू गन्तव्यलाई प्रेरित गर्ने रहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको भनाइ छ।

संसारभर करिब १ अर्ब मानिस फरक ढंगले सबल रहेका छन्। पर्यटनमा यो निकैै महत्वपूर्ण स्रोतको रूपमा लिएको छ, यस पदयात्रा मार्गमा ह्वील चेयर प्रयोगकर्ता, वृद्ध नागरिक, कृत्रिम हात खुट्टा भएका जस्ता पदयात्रीको सुविधालाई ध्यान दिएर निर्माण गरिएको छ। शौचालय, साइनेज र मार्ग पनि सोही अनुसारकै राखिएको पर्यटन बोर्डले जनाएको छ। सो पदमार्गबाट उत्तरतर्फ अन्नपूर्ण, माछापुच्छ्रेलगायत पोखराको मनोरम हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ भने दक्षिणतर्फ फेवाताललगायत बस्ती तथा फाँटको मनोरम दृश्यले पर्यटकको आगमनमा वृद्धि ल्याउने अनुमान बोर्डको रहेको छ।

नेपाल पर्यटन बोर्ड र अन्तर्राष्ट्रिय विकास संस्थाको मुख्य आयोजनामा साहसिक पर्यटन सम्बन्धी अन्तर्राष्टिय सम्मेलन पनि आयोजना गरिएको थियो। प्रत्येक वर्ष मार्च ३० तारिखका दिन सबैका लागि पहुच (एक्सेस टु अल) दिवसका रूपमा मनाउने निर्णय भएको जानकारीसमेत प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्