यात्रा विवरण, बौद्ध तीर्थयात्रीहरूसँग भारत घुम्दा



मोहन दुवाल
मेरी जीवनसंगिनी भारतीसँग २० दिन भारत जाने निर्णय गरियो। चोभारस्थित सुलक्षण कीर्ति विहारको आयोजनामा लुम्बिनी भएर भारतको विभिन्न ठाउँमा बौद्ध तीर्थयात्रा जाने कार्यक्रम मिलाइएको रहेछ। मलाई जान अनुरोध गरे, मैले भारतीसँग जाने कुरा मिलाएँ।

नेपालदेखि बस रिजर्भ गरेर, खाना पकाउने भान्छेहरूसमेत लाने व्यवस्था मिलाइएको उक्त यात्रा पारिवारिक ढङ्गको हुने अनुमान गरिएको थियो। गत माघ १० गते बिहानै ६ः१५ बजे नै चोभारस्थित सुलक्षण कीर्ति विहारमा मोहनकुमार श्रेष्ठ र असलमाया भाउजूसँगै हामी दम्पती पनि मिसिन गयौं।

४२ सदस्यीय उक्त भ्रमण टोलीमा तीन खण्ड जति महिलाहरू सहभागी थिए। डा. अनोजा गुरुमाँको नेतृत्वमा जाने उक्त भ्रमण टोलीमा विवाद नहोस् भनेर नै होला बसको सिटहरूमा नाम टाँसेका रहेछन्। रकम बुझाउनेहरूकै रोलक्रममा सिटको व्यवस्था मिलाइएको जानकारी भयो। सबैका सामानहरू बसमा मिलाएर राख्न र सबैलाई आ–आफ्नो सिटमा बस्न लगाएर बस विहारबाट गुड्दा ७ः४५ बजिसकेको थियो। सिमसिम पानी परेको पर्यै छ। डा. अनोजा एकसुरले बुद्ध वन्दना गर्दै छन्। भारतमात्र नभई विश्वका धेरै ठाउँमा बौद्ध तीर्थयात्रीहरू लिएर घुम्न गएकै कारणले डा. अनोजा यात्रा टोलीको नेतृत्व गर्न निपुण देखिन्छन्।

एकनास बस गुड्न थाल्यो। १२ः०० बजेतिर कुरिनटारमा बस रोकियो। भात खाने भनियो, सबैजना भात खानमा मस्त रहे। साँझको ८ः०० बजे लुम्बिनी पुग्यौं। नेपाली विहार ‘गौतमी विहार’ मा बस्ने व्यवस्था मिलाइएको रहेछ। हामी सबै कोठा–कोठामा विभाजित भयौं। खाना पकाउनेहरू खाना पकाउने धुनमा छन्। केही क्षणमा खाना पाकेको सूचना थाल ठटाएर भयो, सबैले आफ्ना लागि थालहरू लिन थाले। क्रम मिलाएर खाना लिने कार्य शुरू भयो। शान्तचोक, भगवान्को ठूलो मूर्तिअगाडि बत्ती बलिरहेछन्। शान्त र सुशील ढङ्गले यताउता गर्दै छन् हाम्रा मित्रहरू। आज खानापछि सुत्न तरखर गरियो। हामी पुरुषहरू पाँचजना एउटा कोठामा रमायौं।

माघ ११ गते बिहानदेखि नै लुम्बिनी घुम्न शुरू भयो। मायादेवी मन्दिरमा भक्तालुहरूको भीड लागेको छ। मायादेवी नुहाउने पोखरी संरक्षित छ। ठाउँ–ठाउँका बौद्धमार्गीहरू भीड लागेर आएको देखिन्छ। अशोक स्तम्भ ठडिएको छ। उक्त स्तम्भमा बुद्ध जन्मेको ठाउँ लुम्बिनी, नेपाल जनाइएको छ। मायादेवी मन्दिरभित्र–बाहिर पुराना इँटाहरू संरक्षित गरी राखिएको छ। संसारलाई थोरै भए पनि चिनाउने मुहार बनेको छ ‘लुम्बिनी’। ८५ वटा जति ठूला–ठूला बुद्ध रहेको विहारहरू सुरक्षित गरी राखेका छन्। लुम्बिनीमा विदेशीहरूको सहयोगले केही न केही भएजस्तो देखिन्छ। बर्माका उथान्तले बनाइदिएको विहारमा डा. अनोजाले एक घण्टा शील–प्रार्थना गरे।

तर कपिलवस्तु तिलौराकोटमा शुद्धोदन महाराजको दरबारका भग्नावशेषहरू मात्र छन्। संरक्षित गरिएको छैन मात्र होइन, केही पनि निर्माण भएको छैन। खण्डहर मात्र हेर्दा मन रुँदो र दुख्दो छ। शाक्य कुल उत्पन्न भएको उक्त ठाउँमा विकासका लागि चीन, जापान, ताइवान, दक्षिण कोरिया, जर्मनी, फ्रान्स, अस्ट्रिया, थाइल्यान्ड, श्रीलङ्का, बर्मा, लाओस, कम्पुचिया, भियतनाम, सिंगापुर आदि देशले सहयोग गरेको देखिन्छ। तर कपिलवस्तु तिलौराकोटमा कसैको केही सहयोग भएको देखिँदैन अर्थात् लुम्बिनी विकास कोष कुन अर्थमा चुपचाप छ, बुझ्न गाह्रो भयो। यसरी दुई दिन लुम्बिनीमा बिताइयो।
त्यसपछि सुनौलीतर्फ प्रस्थान गरियो। सुनौली पुग्दा बिहान १०ः३५ भयो। गोरखपुर भएर कुशिनगर पुग्दा ३ः०० बजिसक्यो। भगवान् बुद्ध निर्वाण भएको ठाउँ कुशिनगरमा स्तूप बनाइएको छ। इँटाको अजङ्गको पहाडजस्तो थलो हेरियो। बुद्ध जन्मेको कपिलवस्तुको रुपरङ्ग नै देखिँदो छैन तर भारतीयहरूले कुशिनगरलाई पनि निर्वाण भएको ठाउँ भनेर चिनाउन प्रयत्न गरेको देखिन्छ। अजङ्गको बुद्धको मूर्ति सुतिराखेको छ, भक्तालुहरूको भीड लागेको देखिन्छ। भदन्त ज्ञानेश्वर बुद्ध विहारमा हामी चारजना एउटा परिवारजस्तै भएर मिलेर सुत्यौं र रात काट्यौं।

१३ गते श्रावस्ती बर्मिज टेम्पलमा रहने भयौं। १४ र १५ गते संकासमा रहेको म्यानमार बुद्धिस्ट टेम्पलमा रह्यौं। उत्तराञ्चलमा रहेको यस क्षेत्रमा अवस्थित रहेका बुद्ध विहारहरू सबैजसो नियाल्यौं। जेतवन विहारमा करिब १९ वर्ष गौतम बुद्धले जीवनका क्षणहरू बिताएको देखिन्छ। यसै क्षेत्रमा बुद्धलाई यौन कुमार्गमा लागेको बात लाग्यो तर प्रमाणित भएन। हरिद्वार हिन्दूहरूको पवित्र धार्मिकस्थल मानिन्छ। यस ठाउँमा माघ १६ र १७ गते रमायौं। गंगाजीमा निकै भीड लाग्ने यस क्षेत्रमा हामी कृष्ण प्रणामी अतिथि गृहमा रह्यौं। दिल्लीमा माघ १८ गतेदेखि २० गतेसम्म डा. शिपी चुंगा मेमोरियल ट्रस्टमा बस्यौं। सारनाथ बौद्धमार्गीहरूको भेला हुने चर्चित थलो रहेछ। दुई दिन माघ २१ र २२ गते यहाँस्थित म्यानमार बुद्धिष्ट टेम्पलमा रहनुपर्यो। यसै गरी बुद्धगयामा दुई दिन, नालन्दामा दुई दिन, वैशालीमा १ दिन बसेर त्यहाँबाट भोलिपल्ट काठमाडौंका लागि प्रस्थान गर्यौं। फागुन १ गते काठमाडौं पुग्दा बिहानको ७ः०० बज्यो।

यसपल्टको भ्रमणमा विशेषतः बुद्धका अनुयायीहरूसँग हिँडेको हुनाले भारतमा रहेका सबैजसो बुद्धले टेकेको, बसेको, केही गरेको ठाउँहरूमा पुगेर अध्ययन गर्न पाइयो। भारतको सबैजसो ठाउँमा बौद्धस्थलहरू पर्यटन केन्द्रजस्तो बनाइएको मात्र होइन, पर्यटकहरूको घुइँचो हुने वातावरण बनाइएको छ। बुद्ध जन्मेको नेपालमा जति हुनुपर्ने चहलपहल बुद्धको नाममा भएको देखिँदैन। तुलनात्मकरुपले भन्ने हो भने, बुद्ध जन्मेको मुलुकमा सरकारी स्तरबाट जति हुनुपर्ने तदारुकता लुम्बिनीमा भएको देखिँदैन। विदेशीले बनाइदिएका विहारहरू देखाएर हामी नेपालीहरू मख्ख हुनुबाहेक अरू थोक केही नहुनु विडम्बनाको विषय हो।

जे भए पनि लुम्बिनी, कपिलवस्तु हुँदै भगवान् बुद्धलाई अन्तिम पानी पिलाएको कुशिनगर, बुद्धले सिद्धीरिद्धि देखाएको जेतवन विहार, भगवान् बुद्धले आमालाई तीन महिनासम्म अभिधम्मदेशना गरेको ठाउँ, हरिद्वार गंगामन्दिर, अक्षरधाम, दिल्ली भएर ताजमहल घुम्न पाइयो। काशीमा रमाइयो। गंगाजीमा डुङ्गा सयर गरियो। सारनाथमा बुद्धका अनुयायीहरूको भक्ति देखियो। भगवान् बुद्धले ६ वर्ष तपस्या गरेको बुद्धगयामा घुम्न पाइयो। नालन्दा राजगृहका बाँकी भएका सुरक्षित राखेको खण्डहरूभित्र र बाहिर डा. अनोजाले व्याख्या गर्दै घुमाउने कार्य गरे। वैशाली चैत्य घुम्दै करिब २१ दिनको यात्रा रमाइलो ढङ्गले व्यतीत भयो। ४२ जना हामी कसैले केही अप्ठ्यारो महसुस नगरी निश्चित तोकेको समयमा चोभार विहारमा पुग्यौं।

प्रतिक्रिया दिनुहोस्