ब्रिटिस रेफ्रिविहीन रुस विश्वकप



लन्डन, (एजेन्सी)
आगामी जुन महिनाबाट शुरु हुने फिफा विश्वकपमा फुटबलको जन्मभूमि ब्रिटेनका रेफ्रीविहीन हुने भएका छन्।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुस विश्वकपका लागि ३६ जना रेफ्रीको नाम सार्वजनिक गरेकोमा कुनै पनि ब्रिटिस रेफ्रीहरू अटाएका छैनन्। जारी गरिएको सूचीमा संयुक्त अधिराज्यअन्तर्गतका राष्ट्रहरू स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका रेफ्री पनि परेका छैनन्।

योसँगै ८० वर्षमा पहिलोपटक विश्वकपमा ब्रिटिस रेफ्री नदेखिने भएको हो। सन् १९३८ देखि हरेक विश्वकप फुटबलमा बेलायती रेफ्रीको संलग्नता रहँदै आएको थियो।

फिफाले प्रतियोगिताका लागि ४६ देशका गरेर ३६ रेफ्री र ६३ सहायक रेफ्रीको नाम सार्वजनिक गरेको हो। पछिल्ला २ विश्वकप सन् २०१० र २०१४ मा बेलायतबाट एक मात्र रेफ्री हावार्ड वेभ रहेका थिए। उनैले २०१० को विश्वकप फाइनलमा स्पेन र नेदरल्यान्ड्सबीचको खेल खेलाएका थिए।

६० वर्षपछि इटाली छनोट हुन नसकेर फुटबलप्रेमी चकित परिरहेका बेला ब्रिटिस रेफ्रीविहीन नयाँ खबरले अर्को सनसनी मच्चाएको छ। यसअघि नै रुसमा आयोजना हुने विश्वकपको व्यवस्थापनलाई लिएर इंग्ल्यान्डले असन्तुष्टि व्यक्त गर्दै आइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्