नेपाली फुटबललाई राहत



नेपाल समाचारपत्र
काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचन हुने वातावरण बन्दै गएको छ। असन्तुष्ट २ संघ भक्तपुर जिल्ला फुटबल संघ र मकवानपुर जिल्ला फुटबल संघमा निर्वाचन गर्न एन्फाले निर्देशन दिएपछि एन्फाको निर्वाचन हुने आशा भएको हो।
त्यस्तै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले समेत सकारात्मक आशय प्रकट गरेपछि निर्वाचन हुन सक्ने यसपटक वातावरण बनेको छ। चैत १४ गते हुने एन्फा चुनाव नहुने भएपछि फिफाले एन्फालाई निलम्बन गर्ने हो कि भन्ने सबैमा लागिसकेको थियो। तर फिफाले भक्तपुर र मकवानपुरमा निर्वाचन सम्पन्न गराएपछि छिटै एन्फाको निर्वाचन गर्न आदेश दिएको छ। फिफाको यो निर्णयपछि हाललाई एन्फा निलम्बन नहुने संकेत गरेको छ। यसले नेपाली फुटबललाई राहत मिलेको छ।
यही परिवर्तन अवस्थामा एन्फा अध्यक्षका उम्मेदवार कर्मा छिरिङ शेर्पाको प्यानेलले शुक्रबार निर्वाचनबारे छलफल गर्न पत्रकार सम्मेलन गरियो। शेर्पाले काठमाडौंमा रहेका ४७ मतदाताले फिफालाई पत्र पठाउँदै नेपाली फुटबललाई मौका दिन आग्रह गरेका जानकारी गराए। उनले भने– ‘काठमाडौंमा रहेका ४७ मतदाताले फिफालाई मौका दिन आग्रह गर्दै पत्र पठाएका थिए।
त्यहीअनुरूप भक्तपुर र मकवानपुरमा पनि निर्वाचन हुन लागेको छ। यसले निर्वाचन हुन वातावरण बन्दै गएको छ।’
फिफाका प्रतिनिधि गएको साता काठमाडौं आएर छलफल गरेका थिए। फिफाले छिटो निर्वाचन गर्न पत्र पठाएकाले पनि हाललाई नेपाली फुटबल ठूलो दुर्घटना हुनबाट जोगिएको शेर्पाले बताए। उनले भने– ‘दुर्घटना त टारियो तर यो अन्तिम मौका हुन सक्छ। निर्वाचन छिटोभन्दा छिटो गर्नैपर्छ। योबाहेक अर्को विकल्प छैन हामीसँग।’
चैत १४ गते को निर्वाचन स्थगित भएपछि नै शेर्पाले नेपाली फुटबल दुर्घटना हुने हो कि भन्ने लागेको बताए। उनले भने– ‘एक पटक निर्वाचन स्थगित भइसकेपछि फेरि अवरोध हुन सक्नेमा सजग हुनुपर्ने सबैलाई आग्रह गर्छौं। मुद्दा नक्कली बनाइदिएमा निर्वाचनमा बाधा पुग्न सक्नेछ। ’
–      एन्फाको केन्द्रीय निर्वाचन मिति २ पटक सारिएको
– १ पटक दशैं र अर्को पटक संसदीय निर्वाचनको कारण मिति सारिएको
– एन्फाको केन्द्रीय निर्वाचन गर्न चैत १४ गतेको मिति तोकिएको 
– चैत ८ गते २ जिल्ला फुटबल संघले मुद्दा दायर गरेपछि निर्वाचन नगर्न पाटन उच्च अदालतको     एन्फालाई आदेश 
– चैत १२ गते एन्फाद्वारा निर्वाचन रोकिएको विज्ञप्ति निकालिएको
– चैत १३ गते भक्तपुरका असन्तुष्ट क्लबले जिल्ला अदालतमा मुद्दा फिर्ता लिएको
– मकवानपुरमा चैत २३ गते र भक्तपुरमा चैत २७ गते निर्वाचन गर्न एन्फाको निर्देशन

प्रतिक्रिया दिनुहोस्