सबै कमाई च्यारिटीलाई



काठमाडौं, (नेस)
जिम्मी डोनाल वेल्स अर्थात् जिम्मी वेल्स अनलाइन विश्व कोषका रुपमा चिनिने विकिपिडियाका सहसंस्थापक हुन्। तर, उनको परिचय अमेरिकी इन्टरनेट प्रवद्र्धक तथा स्वतन्त्र विश्व कोष विकिपिडिया र विकिया कम्पनीका सह–संस्थापकका रुपमा मात्र नभई एक समाजसेवी र प्रखर वक्ताका रुपमा समेत लिइने गरिएको छ।

जिम्मी वेल्स जन्म सन् १९६६ अगस्ट ७ मा हन्ट्सभिल्ली, अमेरिकामा भएको थियो। उनका बुवा किराना भण्डार पसलमा म्यानेजर थिए भने उनकी आमा र हजुरआमाले एउटा सानो कक्षा कोठामा निजी विद्यालयका रुपमा बाल सिकाई गृह सञ्चालन गर्दथे।

यही विद्यालयमा नै जिम्मी वेल्स र उनका दाजुभाइ तथा दिदीबहिनीहरूले प्रारम्भिक शिक्षा हासिल गरेका थिए। ८ कक्षासम्म त्यहाँ पढेपछि वेल्स र्यान्डोल्फ विद्यालयमा भर्ना भए र १६ वर्षको उमेरमा स्नातक गरे। स्नातक तहको पढाई सकेर युनिभर्सिटी अफ अलाबामामा गएका उनले त्यहीबाट बिजनेस एड्मिनिस्ट्रेसन मा स्नातक र स्नातकोत्तर गरे। पढाई पूरा गरेपछि उनले सिकागोस्थित एउटा ट्रेडिङ फर्ममा केही समय नोकरी गरे। त्यसभन्दा अघि उनले उनका बुबाको कम्पनीमा केही समय निकै न्यून तलबमा काम गरेका थिए।

वेल्स सानोदेखि नै पढाईमा अब्बल थिए। उनी ३ कक्षामा पढ्दै गर्दा उनकी आमाले एक घुमन्ते व्यापारीसँग विश्वकोष किनेकी थिइन्। वेल्सले उक्त पुस्तकसँग आफ्नो निकै लगाव रहेको सोही कारणले आफू अनलाइन विश्व कोष बनाउनका लागि उत्पे्ररित भएको बताउँदै आएका छन्।

जुनसुकै प्रयोगकर्ताले सजिलै सम्पादन गर्न सक्ने विशेषता भएको ‘विकिपिडिया’ लोकप्रिय वेबसाइटमध्येको एक हो। वेल्सले सन् २००१ जनवरी ५ मा यो वेबसाइट शुरू गरेका थिए। अंग्रेजी भाषाको वेबसाइटका रूपमा शुरू गरिए पनि अहिले करिब ३ सय भाषामा उपलब्ध छ। विकिपिडियामा पाठकले विभिन्न विषयमा लाखौं लेख र जानकारीहरू पाउन सक्छन्।

विकिपिडिया एउटा च्यारिटी संस्था हो। विश्वभरका व्यक्तिले गरेका सहयोगबाट प्राप्त रकमले नै यो संस्था चलिरहेको छ। विकिपिडियाजस्तै अर्को वेभसाइट विकियामा ‘विकी–होस्टिङ’ सेवामार्फत् केही हिस्सा जिम्मीले लग्ने गरेका छन् भने उनी उक्त कम्पनीका ठूला शेयर सदस्य समेत हुन्। विकिपिडियाबाट भने उनले कुनै तलब वा नाफाको हिस्सा लिदैनन्।

 

अनलाइन विश्वकोषको रुममा प्रसिद्धि कमाएको विकिपिडियाबाट मनग्य आम्दानी भए पनि वेल्सले उक्त संस्थालाई एक च्यारिटी संस्थाका रुपमा सञ्चालन गर्दै आएका छन् भने आफू सार्वजनिक कार्यक्रममा उत्प्रेरणादायी र सफलताका विषयमा भाषण गर्दै हिड्छन्। त्यस्ता कार्यक्रमबाट हुने आम्दानीले आफ्नो जीवन सजिलै धानिरहेको उनको भनाइ छ। विकिपिडियाको सम्पूर्ण कमाई भने च्यारिटीमा जाने गरेको छ।

विकिपिडियामा विज्ञापनका लागि विश्वका उत्कृष्ट कम्पनीहरूले मरिहत्ते गर्छन्। तर, जिम्मीले आफ्नो वेबसाइटमा कहिल्यै विज्ञापनलाई स्वीकार गरेनन्। विचार तथा अभिव्यक्ति स्वतन्त्रता हरेक व्यक्तिको अधिकार भएका कारण विकिपिडियामार्फत् आफूले अभिव्यक्ति स्वतन्त्रताको प्रवद्र्धन गरेको उनको भनाइ छ। ‘म अभिव्यक्ति र विचार स्वतन्त्रताको समर्थक हुँ। विश्वभरिका मानिसले विकिपिडियाको सहयोगमा आफूलाई चाहिने जानकारी प्राप्त गर्न र एक–अर्कासँग जोडिन सकुन भन्ने मेरो चाहाना हो।’ उनको भनाइ छ।

जिम्मीका अनुसार विकिपिडिया एउटा च्यारिटी संस्था हो। विश्वभरका व्यक्तिले गरेका सहयोगबाट प्राप्त रकमले नै यो संस्था चलिरहेको छ। विकिपिडियाजस्तै अर्को वेभसाइट विकियामा ‘विकी–होस्टिङ’ सेवामार्फत् केही हिस्सा जिम्मीले लग्ने गरेका छन् भने उनी उक्त कम्पनीका ठूला शेयर सदस्य समेत हुन्। विकिपिडियाबाट भने उनले कुनै तलब वा नाफाको हिस्सा लिदैनन्।

विकिपिडियालाई गैरनाफामूलक बनाउने उनको निर्णयलाई धेरैले प्रशंसा गरे भने केहीले लोकप्रियताका लागि यस्तो निर्णय गरेको हुनसक्ने भन्दै आलोचनासमेत गरेका थिए। तर, उनले आफ्नो अवकाश जीवनका लागि कम्पनीले उचित व्यवस्थापन गर्नेप्रति आशावादी रहेको भन्दै धेरै धन कमाउनुमात्र आफ्नो ध्येय नभएको पुष्टि गरे।

(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्