नखुवाऊ सस्तो ललिपप



अब नेपालमा एक वर्षभरि ५२ वटा शनिबार र अन्य १५ दिनसहित ६७ दिनमात्र सार्वजनिक बिदा हुनेछन् । सरकारको काम कारबाहीलाई चुस्त दुरुस्त बनाउने भन्दै बुधबारको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेपछि धेरै सरकारी कर्मचारी असन्तुष्ट देखिएका छन् । ओली सरकारको गुनगान गाउने ओठहरु अहिले ओलीकै आचोलना गर्न शुरू गरेपछि धरहरा छक्क पर्न थाल्या छ ।

छक्क पर्ने विषय त अर्को पनि छ है पाठकवृन्द⁄ मुलुक गणतन्त्रात्मक घोषणा भइसकेको १ दशक नाघिसक्या छ । मुलुकबाट राजतन्त्र हट्यो, तर राजतन्त्रको अवशेष अझै बाँकी छ । राष्ट्रपतिको सवारी विचार गरौं त, शाही झल्को झल्काउने भन्दा के नै कम छ र? यस्तो झल्को दोहोर्याउन मरिहत्ते गर्ने सरकारले सार्वजनिक बिदा कटौती गरेर बहादुरी नदेखाए पनि हुन्छ ।

मुलुकमा श्रीपेचविनाका राजाहरुको चुरीफुरी कहिलेसम्म बाँकी रहने? त्यसैले सरकार, जनतालाई सस्तो ललिपप नखुवाए पनि हुन्छ । सार्वजनिक बिदा कटौती गर्ने सरकारले विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सेवा सुविधा र अन्य धेरैथरी सुविधा पनि कटौती गरेर देखाओस् त । अनि कुरा गरौंला।

प्रतिक्रिया दिनुहोस्