‘चार वर्षमा गोकुलगंगा गाउँपालिकाभित्र पाँच हजार रोजगारी सिर्जना गछौं”



बलराम खड्का
प्रवक्ता एवं वडा अध्यक्ष
गोकुलगंगा गाउँपालिका–५ नामाडी

स्थानीय सरकारले अहिले सडक निर्माणलाई नै पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ। रामेछापको गोकुलगंगा गाउँपालिकाले पनि जनताको दैनिकीसँग जोडिएको सडक निर्माणलाई नै विकास बजेटको पचास प्रतिशत बजेट खर्चिएको छ। सडक निर्माणसँगै गाउँपालिकाले कृषि, स्वास्थ, शिक्षा, रोजगारी, पर्यटनलगायतको विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। स्थानीय सरकार गठन भएपछि गाउँपालिकाले नागरिकलाई कसरी सेवा प्रवाह भइरहेको छ ? भावी योजना र समृद्ध गाउँपालिका बनाउने योजनालगायतको विषयमा गोकुलगंगा गाउँपालिकाका प्रवक्तासमेत रहेका गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष बलराम खड्कासँग नेपाल समाचारपत्रका लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः

गाउँपालिकाभित्र सडकको अवस्था कस्तो छ ?

गाउँपालिकाको ६ वटै वडामा सडक पुगेको छ। गाउँपालिकाले यस आर्थिक वर्षका लागि पचास प्रतिशत बजेट सडकमा लगानी गरेको छ। सडकको स्तरोन्नति गर्ने काम भएका छ। भत्किएका बिग्रएका सडक निर्माण गरेर सहजरूपमा यातायात सञ्चालन गर्ने काममा गाउँपालिकाले पहिलो प्राथमिकता राखेको छ। गाउँपालिकाको ६ वटा वडामा सडक निर्माणका लागि ४०–४० लाख रुपियाँ बजेट विनियोजन गरेर अहिले काम भइरहेको छ। अधिकांश काम सम्पन्न भएको छ। केही हुने क्रममा छ। गाउँपालिकाको जोडने दुई वटा सडक चुचेर हुँदै गाउँपालिकाको केन्द्र र फर्पु नामाडी बेताली–रस्नालु हुँदै गाउँपालिकाको केन्द्रसम्म सञ्चालन हुने सडकलाई ७०–७० लाख रुपियाँ विनियोजन गरेर हाल डीपीआरको काम भइरहेको छ। वडाभित्र रहेको आन्तरिक सडकलाई व्यवस्थित गर्न प्रत्येक वडामा २०–२० लाख रुपियाँ बजेट विनियोजन गरेर काम गरिरहेका छौं। गाउँपालिकाको सबै वडामा हिउँद–वर्षामै यातायात सञ्चालन हुन्छ। यो सँगै गाउँपालिकाको केन्द्र रस्नालु जोडने सडक पनि कालोपत्रे गर्नका लागि अहिले काम भइरहेको छ। आगामी २ वर्षभित्र गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे हुनेछ। ४ वर्षको अवधिअन्तर्गत ठेकेदार कम्पनीले २ वर्ष काम गरिसकेको छ। गाउँपालिकाबाट सदरमुकाम मन्थली ५० किलोमिटर रहेको छ।

विद्युतीकरणको काम के–कसरी अगाडि बढिरहेको छ ?

गाउँपालिकाको अधिकांश स्थानमा विद्युतीकरण भइसकेको छ। गाउँपालिका–२ ठोसको साविक एउटा वडामा मात्र विद्युतीकरण गर्न बाँकी छ। यसै वर्ष विद्युतीकरण गरिसक्ने लक्ष्यको साथ गाउँपालिकाले २० लाख रुपियाँ बजेट पनि विनियोजन गरिसकेको छ।

गाउँपालिकाभित्र कुनै पनि नागरिक विद्युत्बाट वञ्चिन नहुने भन्ने हाम्रो चाहना हो। यसै वर्ष हामी यो योजना कार्यान्वयन गर्छौं।

खानेपानीको अवस्थाको नि ?

गाउँपालिकाभित्र खानेपानीको स्रोत पर्याप्त छ। तर, हामीले भनेको जस्तो व्यवस्थित गर्न सकेका छैनौं। गाउँपालिकाभित्र रहेको प्रत्येक घरमा धारो पुर्याउने लक्ष्य गाउँपालिकाले लिएको छ। विगतदेखि नै खानेपानीका योजना सञ्चालन भए पनि प्रभावकारीरूपमा काम हुन नसकेको पाइएको छ। स्थानीय तहमा जनप्रतिनिधिहरू आएपछि खानेपानीलगायतका विसका निर्माणको काममा तीव्रता आएको छ।

बैंक स्थानापना नहुँदा सिंहदरबारको अधिकार गाउँ–गाउँ पुगेन भन्ने गुनासो छ नि ?

रामेछापमा बैंकको शाखा स्थापना गर्ने हाम्रो पहिलो गाउँपालिकाका हो। गाउँपालिकाको ५ वटा गाउँपालिकामा अझै बैंकको शाखा स्थापना भएको छैन। गाउँपालिकामा नै बैंकको शाखा स्थापना भएपछि हामीले गाउँ–गाउँमा सिंहदरबार भन्ने नारालाई कार्यान्वयन गरेका छौं।

कृषिमा आधुनिकीकरण गर्ने योजना के छ ?

गाउँपालिकाको पहिलो प्राथमिकता नै कृषिमा आधुनिकीकरण हो। गाउँपालिकाभित्र भइरहेको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने हाम्रो लक्ष्य रहेको छ। गाउँपालिकालाई समृद्ध बनाउने आधार नै कृषि हो। गाउँपालिकाभित्र तरकारी र फलफूल खेती नै मुख्यरूपमा हुने गरेका छन्। रस्नालुमा आलुको पकेट क्षेत्र बनाउने, नामाडी, बेताली व्यावसायिकरूपमा तरकारी खेती गर्ने फर्पु र चुचेरमा पनि कृषिका लागि उर्वर भूमि मानिन्छ। गाउँपालिकाभित्र किवी, चियाखेती र अलैंची खेती पनि राम्रो सम्भावना छ।

स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्न के योजना छ ?

गाउँपालिकाभित्र अहिलेसम्म अस्पताल छैन। हामीले गाउँपालिकाको केन्द्र रस्नालुमा १५ शैय्याको अस्पताल निर्माण गर्न योजनालाई विदेशी दातृ निकायले सहयोग गर्ने प्रतिबद्धनता जनाएको छ। गाउँपालिकाको चुचेरबाहेक अन्य सबै वडामा बर्थिङ सेन्टर स्थापना भइसकेको छ। त्यहाँ पनि छिट्टै स्थापना गर्न योजना बनाएका छौं। गाउँपालिकाका जनतालाई सहजरूपमा स्वास्थ्य सेवा दिन १७ रोपनी जग्गामा १५ सैय्याको अस्पताल निर्माण गर्ने योजना अगाडि सारेका छौं। हाल गाउँपालिकामा ४ वटा एम्बुलेन्स रहेका छन्।

स्थानीय तहमा रोजगारी सिर्जना गर्न गाउँपालिकाले के गरिरहेको छ ?

गाउँपालिकाभित्र भएको स्रोत र साधानलाई अधिकतम परिचालन गरेर आगामी ४ वर्षको अवधिमा ५ हजार जनालाई रोजगारी सिर्जना गर्ने हाम्रो लक्ष्य रहेको छ। वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै गाउँघरमा बसेर रोजगारी गर्न चाहनेहरूलाई गाउँपालिकाले प्राथमिकतामा राखेर वातावरण सिर्जना गर्नेछ।

कृषिको पकेट क्षेत्र स्थापना गरेर व्यवसायिक तरकारी खेती गर्ने, पशुपालन गर्ने लक्ष्य छ। चुचुरेलाई जडीबुटी र पर्यटन क्षेत्रको रूपमा विकास गर्ने, ठोसमा आलुको पटके क्षेत्र बनाउने, रस्नालुमा चिया र किवी खेतीको पकेट क्षेत्र बनाउने, वेतालीमा रेम्बो ट्राउट माछा र कुखुरापालनको पेसालाई अगाडि बढाउने, नामाडीमा काउ फार्म सञ्चालन गर्ने, फर्पुमा पशुपालनलाई प्राथमिकता दिने यी काम गरेर आगामी ४ वर्षभित्र ५ हजार जनालाई रोजगारी सिर्जना गर्ने लक्ष्य हामीले लिएका छौं। काम गर्ने युवाहरूलाई विदेश जान नपर्ने वातावरण सिर्जना गछौं।

पर्यटन क्षेत्रको विकास के योजना छ ?

गोकुलगंगा गाउँपालिकाभित्र पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको छ। चुचुरे र रस्नालु विशेष पर्यटकीय क्षेत्रको रूपमा चिनिँदै आएको छ। तामेडाँडामा भ्युटावर निर्माण गर्ने योजना पनि अगाडि सारेका छौं। बाँकी गाउँपालिकाभित्र रहेका धार्मिक पर्यटकीय क्षेत्रलाई पनि एकसाथ अगाडि बढाएर लैजाने योजना छ।

प्रतिक्रिया दिनुहोस्