लुभुका कपडा उद्योग संकटमा



नेपाल समाचारपत्र
ललितपुर
लुभुमा औद्यौगिक ग्राम नहुँदा कपडा बुन्ने उद्योगहरु संकटमा पर्न थालेका छन्। कपडा बुन्ने उद्योग सरकारी उदासीनताका कारण संकटमा परेपछि उद्यमीहरुले औद्योगिक ग्राम स्थापना गर्नुपर्ने आवाज उठाउन थालेका हुन्। लुभुमा सबैभन्दा पहिले विसं १९९५ सालमा कपडा उद्योग सञ्चालन भएको थियो। ललितपुर उद्योग वाणिज्य क्षेत्र नं २ शाखाका अनुसार हाल १ सयका हाराहारीमा कपडा बुन्ने उद्योगअन्तर्गत १५ सयभन्दा बढी कपडा बुन्ने तान सञ्चालनमा रहेका छन्।

अन्धाधुन्द र अनियन्त्रित तवरले बस्ती विकासबाट उद्योग सञ्चालनमा कठिनाइ भएको उद्यमीहरु बताउँछन्। उद्योग सञ्चालनका लागि स्वीकृत लिँदा चार किल्लाको सिफारिस अनिवार्य गरिएको कुनै एक छिमेकीले उजुरी गर्दा पनि उद्योगहरु बन्द हुने स्थिति रहेको उद्यमी सन्तराम महर्जनले बताउनुभयो।

कपडा बुन्ने तालिमको व्यवस्था नभएको, स्थानीय युवाको पलायन भएसँगै कामदारका अभावले टेक्सटायल उद्योगहरु संकटमा रहेको अर्का उद्यमी बालकृष्ण श्रेष्ठको कथन रहेको छ।

‘हाल रहेका अधिकांश उद्योग आफ्नो घरसँगैका टहरामा बनाइएका छन्। त्यस्ता उद्योग अव्यवस्थित र छरिएका छन्। उद्योगबाट ध्वनि प्रदूषण हुने भएकाले छरछिमेकीहरु असन्तुष्टि व्यक्त गर्छन्’, शाखाका अध्यक्ष केशव श्रेष्ठले भन्नुभयो– ‘ती उद्योगलाई स्थानान्तर गरी एकीकृत गर्न, आधुनिक प्रविधिको प्रयोगलाई जोड दिन, वैकल्पिक ऊर्जाको सहज व्यवस्था, उचित पूर्वाधार बनाउन औद्योगिक ग्राम बनाउनु टड्कारो भइसकेको छ।’

लुभुमा औद्योगिक ग्राम बनाउन सरकारीस्तरमा वर्षौंदेखि चर्चा चलेका थियो। बेलाबखत चर्चा चले पनि त्यस दिशामा काम अघि नबढेको पनि उद्यमीहरुको गुनासो रहेको छ। यस्तो अवस्थामा लुभुमा उद्योग र त्यसको पूर्वाधार बनाउन सो माग अघि सारेका हुन्।

शाखाका अध्यक्ष केशव श्रेष्ठले सयौं वर्षदेखि आत्मनिर्भर क्षेत्रका रूपमा पहिचान बोकेको लुभुमा औद्योगिक ग्राम घोषणा गर्नसके यहाँका उद्योगहरु प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो। अध्यक्ष श्रेष्ठका अनुसार अहिले लुभुबाट सुतीको कपडा, पस्मिना सल, बुट्टे सल, सक्कली ढाका, ऊनी सल, मफलर, हाकुपटासी उत्पादन गर्दै आएको छ। उत्पादित कपडा अमेरिका, फ्रान्समा समेत निर्यात गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्