नेदरल्यान्ड्सद्वारा पोर्चुगल सहजै पराजित



लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याचमा वर्तमान युरोपियन च्याम्पियन पोर्चुगललाई नेदरल्यान्ड्सले सहजै पराजित गरेको छ। जेनेभामा सोमबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोसहितको पोर्चुगललाई नेदरल्यान्ड्सले ३–० गोल अन्तरले पराजित गरेको हो। खेलमा भएको तीनवटै गोल पहिलो हाफमा भएका हुन्। खेलको ६१औं मिनेटमा दोहोरो पहेंलो कार्डका कारण १० जनामा खुम्चिएको पोर्चुगलले खेलको ११औं मिनेटमा पहिलो गोल बेहोरेका थिए। म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी मेम्पिस डिपेको गोलमार्फत नेदरल्यान्ड्सले गोलको खाता खोलेका हुन्।

यस्तै खेलको ३२औं मिनेटमा लिभरपुलका पूर्व फरवर्ड रयान बाबेलले नेदरल्यान्ड्सका लागि दोस्रो गोल गरे। यसैगरी पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा डच टिमका नयाँ कप्तान भर्जिल भान जिक तेस्रो गोल गर्न सफल भए। यता पछिल्ला आठ म्याचमा लगातार गोल गरेका पोर्चुगीज स्टार रोनाल्डोको गोलको यात्रा पनि नेदरल्यान्ड्सविरुद्धको नवौं खेलमा आएर टुंगिएको छ।

सोमबार राति नै भएको अन्य अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फिनल्यान्डले माल्टालाई ५–० ले हराउँदा बुल्गेरियाले कजाखस्तानलाई २–१ ले तथा नर्वेले अल्बानियालाई १–० पराजित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्