मन्त्री र व्यापारीको लगनगाँठो



एकताका बहालवाला मन्त्री नै बजार अनुगमनमा निस्केपछि व्यापारीहरू त्रसित र आम उपभोक्ता हर्षित भएको धरहराले देखेको थियो। तर समय परिस्थिति एकनासको हुँदोरहेनछ। सोमबार मात्रै अनुगमनमा निस्किएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीलाई मन्त्रीको एक कल फोनले एक ठूलो व्यवसायिक घरानालाई थमाइसकेको पक्राउ पूर्जीसमेत फर्जी तुल्याइदियो। पछिल्लो समय एकपछि अर्को काण्ड मच्याउँदै आएको र खुलेआम ठगी गरेको भन्ने प्रमाणसहित अख्तियारले आपूर्ति विभागलाई पक्राउ गर्न पत्र पठाएको थियो।

तर मन्त्रीको एक कल फोनले व्यापारीको नाक फुल्यो भने पक्राउ गर्न गएका कर्मचारी चुकचुक मान्दै कार्यालय फर्किएको धरहराले खुदै देख्यो। केही समयअघि मन्त्रालयमा नै बोलाएर विभागका कर्मचारीलाई आफ्नो आदेशबिना पात समेत नहल्लाउन आदेश दिएका थिए। तर अख्तियारले कारबाही गर्न पत्र थमाएपछि त्यो कुरा बिर्सिएका विभागका कर्मचारीलाई मन्त्रीको फोनले आरोपीलाई लगाइसकेको हत्कडीसमेत निकाल्न बाध्य तुल्यायो।

मन्त्रीले ठूला व्यापारीक घराना ठूला करदातासमेत भएकाले उनीहरूलाई विभागले बक्रदृष्टि लगाएकोसम्म भन्न भ्याएका थिए। व्यापारीहरू ठूला करदाता कसरी भए ? उनीहरूले आफ्नो गोजीबाट राजश्व तिरेका कि जनताबाट ठगी गरेको पैसा तिरेको ? अनुगमनमा गएका एक कर्मचारी रन्थनिदै थिए। धरहरालाई पनि ती कर्मचारीको आक्रोश सही पो हो कि जस्तो लागेको छ। मुलुकको कानुनभन्दा ठूलो व्यापारीहरूको शक्ति देखेर जिल्लिएको धरहरालाई व्यापारीले कर तिर्छन् भन्ने कुरा झन् पटक्कै चित्त बुझेन। कर तिर्ने जनता हुन् कि व्यापारी मन्त्रीज्यू ? धरहरा उत्तरको प्रतीक्षामा छ।

प्रतिक्रिया दिनुहोस्