घर प्रबलीकरण गर्न प्राधिकरणको अभियान



नेपाल समाचारपत्र
काठमाडौं
भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रबलीकरणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विशेष अभियान सञ्चालन गर्ने भएको छ। भूकम्पबाट क्षति भएका तर पूर्णरूपमा नभत्किएका भवनलाई भूकम्प प्रतिरोधी बनाउन सो अभियान सञ्चालन गर्न लागेको हो।

प्राधिकरणको तथ्यांकअनुसार हालसम्म भूकम्प प्रभावित ३२ जिल्लाका २४ हजार ९ सय ९१ निजी घर प्रबलीकरण गर्ने सूचीमा छन्। भूकम्पपछिको पुनर्निर्माणमा औसत प्रगति देखिए पनि प्रबलीकरणमा निकै कममात्र प्रगति भएको पनि प्राधिकरणले निष्कर्ष निकालेको छ। यस्तो अवस्थामा प्राधिकरणले सामान्य क्षति पुगेको तर बस्न मिल्ने घरलाई मर्मत सम्भार गरेर भूकम्प प्रतिरोधी बनाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रबलीकरण कार्यमा डीएफआईडी, यूएनओपीएस तथा बिल्ड चेन्जले प्राधिकरणलाई सहयोग गर्नेछन्। संस्थाले आगामी २ वर्षभित्र २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई प्रबलीकरणको तालिम दिने सहमतिसमेत गरिसकेको छ। तालिमका क्रममा १ हजार घर प्रबलीकरण गरिनेछ। तालिममा स्थानीय सरकारको सिफारिसमा जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरसमेत प्रबलीकरण गरिने प्राधिकरणले जनाएको छ।

यूएनओपीएसले प्रबलीकरणसम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा पेस गरिसकेको छ। प्राधिकरणको आवास, बस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले सो प्रस्ताव अध्ययन गरी त्यसलाई एक हप्ताभित्र अन्तिम रूप दिएर शहरी विकास मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिनेछ।

प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपीएस, डीएफआईडी, तथा बिल्ड चेन्जका अधिकारीहरुले प्रबलीकरणको पाठइ्क्रम निर्माण गरिरहेका छन्। यसलाई चैत तेस्रो साताभित्रै अन्तिम रूप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिनुभयो।

पाठइ्क्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ। डकर्मीको तालिम पनि साथसाथै आयोजना गर्ने प्राधिकरणको योजना छ।

प्रतिक्रिया दिनुहोस्