सार्वभौमसत्तामाथि धावा बोल्ने अधिकार कसैलाई छैन



नेपाल समाचारपत्र
काठमाडौं
विभिन्न मुलुकका राजदूतहरूले मन्त्री र अन्य उच्च अधिकारीहरूसँग आफूखुसी भेटघाट गर्ने क्रम बाक्लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका प्राथमिकताबारे उनीहरूलाई ‘ब्रिफिङ’ गर्नुभएको छ।

मुलुकको स्वतन्त्रता र सार्वभौमिकतामा आफ्नो सरकारले कुनै पनि सम्झौता नगर्ने उहाँले बताउनुभएको छ। सरकारको विदेश नीति पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्र संघको चार्टर, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिको सिद्धान्तबाट निर्देशित हुने प्रधानमन्त्री ओलीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘सबैको मित्र बन्ने र कसैको दुस्मन नबन्ने हाम्रो उद्देश्य हुनेछ, हामी सबैलाई असल मित्रका रूपमा व्यवहार गर्न चाहन्छौं।’

राष्ट्रियता, लोकतन्त्र, समानता र सामाजिक न्याय, स्थायित्व, समृद्धि र विकास, सुशासन, व्यापार र लगानीमैत्री वातावरण सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले प्रस्टइउनुभयो। नेपालको विकास निर्माणमा सहयोग गर्ने विकास साझेदारहरूलाई आभार व्यक्त गर्दै ओलीले मुलुकको प्राथमिकतामा आधारित भएर सरकारी संयन्त्रमार्फत सहयोग गर्न आग्रह गर्नुभयो।

मुलुकको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै ओलीले भन्नुभयो– ‘हामी लगानीमैत्री वातावातरण बनाउँछौं, तपाईंहरू लगानी गर्न डराउनुपर्दैन, नेपालले हस्ताक्षर गरेका अन्तर्राष्ट्रिय सन्धिसम्झौता पालना गर्छ।’ उहाँले जोड दिँदै भन्नुभयो– ‘आपसी सम्बन्धलाई व्यापार, लगानी, पर्यटनलगायतका क्षेत्र र जनस्तरमा हाम्रो सम्बन्धलाई खुला र विविधीकरण गर्न चाहेका छौं।’

सो ब्रिफिङमा नेपालका लागि बेलायत र जर्मनीका कार्यवाहक राजदूत सहभागी भए पनि अन्य मुलुकबाट सबै आवासीय राजदूत र कूटनीतिज्ञहरूको सहभागिता रहेको नेकपा एमालेका नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो।

‘छिमेकी मुलुक भारत र चीनसहित प्रमुख दातृ राष्ट्र र युरोपियन युनियन तथा सबै आवासीय राजदूतहरू ब्रिफिङमा सहभागी हुनुहुन्थ्यो, प्रधानमन्त्रीले उहाँहरूलाई सरकारका प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको हो।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

आफ्नो ब्रिफिङमा प्रधानमन्त्री ओलीले सरकारले मानव अधिकारको गम्भीर उल्लंघनको विषयमा आममाफी नदिने बताउँदै सत्यनिरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेको अवगत गराउनुभएको थियो। मुलुक लामो समयपछि राजनीतिक स्थिरताको युगमा प्रवेश गरेको उल्लेख गर्दै ओलीले यसका लागि ठूलो मूल्य चुकाइएको प्रस्ट पार्नुभयो। सरकारले दुवै छिमेकी मुलुक भारत र चीनसँग समदूरी कायम गर्ने, छिमेकीको वैध चासोलाई सम्मान गर्ने बताउँदै ओलीले नेपाली भूमिलाई प्रयोग गर्न नदिने प्रतिबद्धता जनाउनुभयो।

क्षेत्रीय आर्थिक विकास, शान्ति र समृद्धिका लागि मुलुकको परराष्ट्र नीति रहने बताउनुभएका ओलीले सार्क, विमस्टेक, एसियन कोअप्रेसन डाइलग (एसीडी), साङ्घाई कोअप्रेसन अर्गनाइजेसन (एसीओ)सँगको सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

दिवा भोजसहितको ब्रिफिङमा पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधव नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडासहित अन्य एमाले नेताहरू सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्