इन्जिनियरले घूस मागेर हैरान



शालिकराम चालिसे, नुवाकोट
नुवाकोटमा भूकम्पछिको पुनर्निर्माण सुस्त गतिमा भइरहेको छ। भूकम्पपछि शुरू भएको पुनर्निर्माणमा हालसम्म ५६ प्रतिशत पीडितले मात्र दोस्रो किस्ताबापतको रकम लिएका छन्।

नुवाकोटमा रहेका ६९ हजार २ सय ८९ लाभग्राहीमध्ये ५६ प्रतिशत बढी भूकम्पपीडितले दोस्रो किस्तावापत्को रकम लिएको रााष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख वेदप्रसाद गौडेलले बताउनुभयो।

प्रमुख गौडेलका अनुसार नुवाकोटमा दोस्रो किस्ताका लागि ४४ हजार २ सय जनाले निवेदन दिइएकामा ४१ हजार ७ सय ९४ जनाले दोस्रो किस्ताबापतको रकम लिएको र ४३ जनाको प्रमाणित हुन सकेको छैन। त्यसै गरी तेस्रो किस्ताबापतको रमकको लागि ६ हजार ६ सय ४६ लाभग्राहीले निवेदन दिएकामा ५ हजार ४ सय ८ जनाले रकम लगेको गौडेलले जानकारी दिनुभयो।

भूकम्पले क्षति भएका नुवकोटका अधिकांश घर तथा विद्यालय पनि निर्माण भएका छैनन्। जसले गर्दा भूकम्प गएको तीन वर्ष हुनै लाग्दा पनि पीडितहरू टहरामै बस्न बाध्य भएका छन् भने एउटै कोठामा दुई वटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यतामा विद्यालय रहेका छन्। अधिकांश विद्यालय अझैसम्म पनि निर्माण हुन सकेका छैनन्। जसले गर्दा बालबालिकाको पढाइसमेत प्रभावित बनेको छ।

भूकम्पले ध्वस्त भएका घरमध्ये करिब १२ हजार ९ सय ९१ घरमात्र निर्माण भएका छन्। त्यस्तै नुवाकोटको ऐतिहासिक साततले मन्दिर पनि अझैसम्म निर्माण हुन सकेको छैन। भूकम्पले ध्वस्त भएका संचरना पनि निर्माण हुन नसक्दा भूकम्पपीडितहरूको मनोबलसमेत घटेको पीडितहरू बताउँछन्।

घर बनाउन कहिले निर्माण सामग्री त कहिले कामदारको अभाव झेल्दै आएका नुवाकोटका भूकम्पपीडितलाई घर बनाउन विभिन्न समस्या आइपरेको छ। जसले गर्दा नुवाकोटमा अपेक्षितरूपमा पुनर्निर्माणले गति लिन सकेको छैन। नुवाकोटमा पुनर्निर्माणले गति लिन नसक्नुमा दक्ष जनशक्तिको अभाव पनि मूल कारण रहेको सरोकारवालाहरू बताउँछन्।

नगरवासी मेयर घेर्न पुगेपछि…..

यसैबीच विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारका भूकम्पपीडितहरूले आफ्नो बारीमा रहेको बालुवा घर बनाउन प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन्। विदुर नगरपालिकाको कार्यालय विदुरमा आएर वडा नं. ३ का बासिन्दाले मेयर सञ्जु पण्डितसँग आफ्नो बारीको बालुवा घर बनाउन प्रयोग गर्न पाउनुपर्ने माग गरेका हुन्। आफ्नै बारीमा राम्रो गुणस्तरको बालुवा निस्कने भए पनि नगरपालिकाले प्रयोग गर्न नदिएको विदुर नगरपालिका–३ मैरीटारका नारायणप्रसाद अधिकारीले बताउनुभयो।

सरकारले भूकम्पपीडितको घर निर्माणमा तीव्रता नभएको भन्दै आएको छ। तर, बालुवा गिटी सहजरूपमा उपलब्ध नहुँदा पीडितहरूले घर बनाउन नसकेको स्थानीय प्रेमबहादुर वस्तीले बताउनुभयो। विदुर नगरपालिकाले नगर क्षेत्रमा ढिस्को, खानीको बालुवा उत्खनन् र प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धका कारण स्थानीयले आफ्नै घर बनाउन पनि आफ्नो बारीको बालुवा प्रयोग गर्न पाएका छैनन्।

भूकम्पपीडितको मागलाई सम्बोधन गर्न गतमहिना नगरपालिका आफैंले बालुवा उत्खनन् गरी वितरण गरेकोमा उक्त बालुवा दुरूपयोग भएपछि रोकिएको जानकारी दिँदै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले खोलाको बालुवा प्रयोग गर्न खुला गरिएको जानकारी दिनुभयो। उहाँले वडा नं. ३ का भूकम्पपीडितको मागलाई केही दिनमै सम्बोधन गरिने पनि बताउनुभयो। उहाँले नगरपालिकाले कार्यविधि बनाएर प्रयोग गर्न दिने बताउनुभयो।

स्थानीयवासीले बालुवा प्रयोग गर्न नदिए आन्दोलन गर्नेसमेत बताएका छन्। विदुर नगरपालिका वडा नं. ३ सँगै जोडिएको तारकेश्वर गाउँपालिका वडा नं ४ बुधसिङका बासिन्दाले पनि वडा नं. ३ को बालुवा प्रयोग गर्न पाउनुपर्ने माग गरेका छन्। जल, जंगल तारकेश्वरको प्रयोग गर्ने र विदुरपटीको बालुवा प्रयोग वर्षौंदेखि गर्दै आएका स्थानीयले स्थानीय तहको सीमानाका कारण छेकिन नहुने बताएका छन्।

पीडितलाई सास्ती
विदुर नगरपालिकाका इन्जिनियरहरूले अनुदान वितरण गर्न घर प्रमाणित गरेबापत भूकम्पपीडितसँग हाक्काहाक्की घूस मागेको गुनासो गरेका छन्। कहिले निर्माण सामग्री त कहिले कामदार र पानीको समस्या भोग्दै आएका नुवाकोटका पीडितहरू इन्जिनियरले घूस मागेसँगै थप मारमा परेका छन्। विदुर नगरपालिकाका इन्जिनियरले भत्ता खर्च भनेर पीडितहरूसँग १ हजार रुपियाँ मागेको एक जना भूकम्पपीडितले बताए। १ हजार रुपियाँ दिनेभए तपार्इंको घरको नक्सा पास गरिदिन्छु अन्यथा घर पास हुँदैन भन्दै विदुर नगरपालिकाका एक इन्जिनियरले पैसा मागेको पीडितले गुनासो गरेका छन्।

नगरपालिकाका इन्जिनियरहरूले बाटो खर्च र भत्ताका नाममा भूकम्पपीडितसँग पैसा मागेको कुरा सार्वजनिक भएपछि विदुर नगरपालिकामा खैलाबैला मच्चिएको छ। इन्जिनियरहरूले पीडितहरूसँग भत्ताका नाममा खर्च मागेको प्रसंगमा बुझ्न खोज्दा विदुर नगरपालिकाकी प्रमुख सञ्जु पण्डितले आफूलाई जानकारी नभएको बताउनुभयो। पण्डितले आफूलाई यो कुरा पहिलोपटक थाहा भएको भन्दै कसैले भूकम्पपीडितसँग भत्ता खर्चबापत पैसा मागेमा कडा कारबाही गरिने चेतावनी दिनुभयो।
नगरपालिकाका मेयर पण्डितले इन्जिनियरहरूले पीडितसँग पैसा मागेको जानकारी नभएको बताइरहँदा नगरपालिकाका इन्जिनियरहरूले भने लामो समयसम्म घर स्वीकृत नगरेर बार्गेनिङ गर्दै आएको खुलासा भएको छ। विदुर नगरपालिका वडा नं ११ गेर्खुका एक पीडितले तेस्रो किस्ताका लागि नगरपालिकामा जाँदा कहिले कागजात पुगेन त कहिले नक्सा भएन भन्दै झुलाएको बताए। पीडितले इन्जिनियरहरूले पैसा लिँदा भत्ता र बाटो खर्च दिएमा मात्र घर अनुगमनमा जाने अन्यथा घर स्वीकृत नगर्ने बताएको गुनासो गरे। इन्जिनियरले सोझै पैसा नलिएर विचौलियाको हातबाट रकम लिने गरेको पनि पीडितहरूको गुनासो रहेको छ।

त्यस्तै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाङले पनि घूस मागेको विषयमा आफूलाई जानकारी नभएको भन्दै त्यो कुरा साँचो भएमा कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए। त्यस्तै इन्जिनियरहरूले लाभग्राहीसँग भत्ता र बाटो खर्चबापत पैसा मागेको विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नुवाकोटका प्रमुख वेदप्रसाद गौडेलले अनविज्ञता प्रकट गर्नुभयो।। गौडेलले गाउँपालिका र नगरपालिकाले इन्जिनियरहरूलाई तलब दिएको बताउँदै पीडितसँग घूस मागेको भए कारबाही गरिने बताउनुयो।

दुप्चेश्वर गाउँपालिकामा पनि घर प्रमाणित गरेबापत इन्जिनियरहरूले पैसा माग्ने गरेको दुप्चेश्वर गाउँपालिकाका स्थानीयवासीले बताएको छन्। इन्जिनियरहरूलाई घर प्रमाणित गरिदिन बोलाउन जाँदा इन्जिनियरहरूले पैसा माग्ने गरेको पीडितहरूले बताएका छन्। पीडितहरूले घूस माग्दा कहाँ गएर उजुरी गर्ने भनेर जानकारी नभएकाले चुप लागेर पैसा दिन बाध्य भएकोसमेत गुनासो गरेका छन्।

प्रतिक्रिया दिनुहोस्