सन्दीप नयाँ करियरतिर



काठमाडौं, (नेस)
सन्दीप लामिछाने भारतको लोकप्रिय क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा नयाँ करियर शुरू गर्न आज नयाँदिल्ली जाँदै छन्। सोमबार सन्दीपले पत्रकार सम्मेलन गरी दिल्ली डेयरडेभिल्सको प्रशिक्षणमा सहभागी हुन छिट्टै जानुपरेको बताए। दिल्ली डेयरडेभिल्सको प्रशिक्षण यही मार्च २९ र ३० तारिखमा हुनेछ। विश्वकै सबैभन्दा ग्लेमर्स क्रिकेट प्रतियोगिताबाट चर्चित आईपीएलमा खेल्न पाउने करियरकै सबैभन्दा ठूलो प्लेटफर्म हुन उनले बताए।

उनले भने– ‘यो मेरा लागि सबैभन्दा ठूलो प्लेटफर्म हुनेछ। त्यहाँ खेल्ने कुराले मलाई उत्साहित पनि बनाएको छ। मैले आफूलाई प्रमाणित गर्न मौका पाएको छु। जति पनि यहाँ सिक्छु ती चीजलाई नेपाली टोलीका लागि प्रयोग गर्नेछु।’

सन्दीपसँग विश्वमा नाम चलेका खेलाडीहरू पनि दिल्लीको टोलीमा भएकोले उनले शुरुआती ११ मा स्थान बनाउन सकिन्छ कि सकिँदैन भन्नेमा सबैको जिज्ञासा रहेको छ। यसमा उनले खेल्न पाउनु वा खेल्न नपाउनुको कुनै कुरा नभएको बताएका थिए। उनले भने– ‘खेल्नुभन्दा पनि टोलीले जितेको हेर्ने चाहना छ। शुरुआती ११ मा पर्न प्रशिक्षणमा पनि भर पर्नेछ। टोलीकै योजनाअनुसार चल्नुपर्छ।’

सन्दीपलाई आईपीएलको अक्सन अगाडि ट्रायलमा राखिएको थियो। जुन ट्रायलको भिडियो दिल्ली डेयरडेभिल्सका प्रशिक्षक रिकी पोन्टिङलाई देखाएपछि अन्तिम समयमा उनलाई टोलीले ३२ लाख नेपाली रुपियाँमा किनेको थियो। यसपछि आईपीएलमा आबद्ध हुने पहिलो नेपाली क्रिकेटर बन्दै सन्दीपले नेपाली क्रिकेटमा इतिहास रचे। हालै पनि १७ वर्षीय क्रिकेटरले जिम्बावेमा भएको विश्वकप छनोट क्रिकेटमा सानदार बलिङ प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्