सय किलो बढी खोर्सानीको होम



सरोज यादव, विराटनगर
मोरङको बेलबारी नगरपालिका–६ मा एक सय बढी किलो खोर्सानीको होम गरिएको छ। खोर्सानीबाट हवन गर्दासमेत खार नआउने विशेषता भएको सो हवन हेर्न नेपाल तथा भारतका श्रद्धालुको घुइँचो लागेको थियो।

मोरङको बेलबारी नगरपालिका–६ स्थित सोमबारे, जितपुरमा विगतका वर्षहरू जस्तै यस वर्ष पनि चर्चित खोर्सानी होम सम्पन्न भएको छ। सो ठाउँमा रहेको याशोक्यानी भगवती मन्दिर परिसरमा साधक गोपाल कोइरालाले विगत १३ वर्षदेखि खोर्सानीको हवन गर्दै आउनुभएको छ। चैतेदसैं अवधिभरि विभिन्न धार्मिक अनुष्ठानको आयोजना गर्दै समापनका दिन खोर्सानी हवन गर्ने गरिन्छ।

दनदनी बलेको कुण्डमा सयौं किलो खोर्सानीबाट हवन गर्दासमेत खार नआउने विशेषता भएका कारण नेपालसहित भारतका विभिन्न क्षेत्रका श्रद्धालु हवनबाट धार्मिक लाभ लिन मोरङको सोमबारे पुग्ने गरेका छन्। यस पटकसमेत सो ठाउँमा सय किलो बढी खोर्सानीबाट हवन गरिएको छ।

सयौं किलो खोर्सानीबाट हवन गरिरहँदा हवनकुण्डको आसपास उभिएर प्रत्यक्ष हवन हेरिरहेको कसैलाई पनि खोर्सानी डढाउँदा उत्पन्न हुने खारको अनुभूति भएन। यस वर्ष १३औं पटकको हवन कमला साधना महायज्ञको रूपमा आयोजना गरिएको हो।
यसपटक राष्ट्र शान्ति र समृद्धिको कामनासहित महायज्ञ र हवनको आयोजना गरिएको साधक गोपालप्रसाद कोइरालाले बताउनुभयो। खुर्सानी डढाउँदासमेत खार नआउने र मन्दिरमा गरेको भाकल पूरा हुने विश्वास बढेपछि वार्षिकरूपमा आयोजना हुने सो अनुष्ठान हेर्न भारतबाट उल्लेख्य संख्यामा धार्मिक पर्यटक आउने गरेका छन्।

नयाँ दिल्लीका निरज पाण्डेले केही वर्षयता आफू निरन्तर सो ठाउँ आउने गरेको बताउनुभयो। नेपाली कांग्रेसका पूर्वसचिव बाबुराजा ओझाले यसपटक हवनको मुख्यकर्ताको भूमिका निर्वाह गर्नुभएको छ। उहाँले आफू ८ वर्षअघिबाट निरन्तर हवनमा सहभागी हुँदै आएको जानकारी दिनुभयो। यसपटकको हवन अवलोकन गर्न विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की, नेपाली कांग्रेसका नेता भक्तिनाथ माझी, सुरक्षा निकायका प्रमुखहरूसहित भारत र काठमाडौंबाट समेत सयौं श्रद्धालु पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्