घोटाला छानविन गर्न प्रधानमन्त्रीसमक्ष गुहार



भगवती तिमल्सिना, काठमाडौं
राष्ट्रिय क्षयरोग केन्द्र ठिमी भक्तपुरमा भएको आर्थिक अनियमितता छानविनको माग गर्दै त्यहाँ कार्यरत कर्मचारी प्रधानमन्त्रीको शरणमा पुगेका छन्। ३ वर्षदेखि भइरहेकोे भ्रष्टाचारमा संलग्न दोषीहरूमाथि कारबाहीको माग गर्दै उनीहरूले चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमाणसहितको निवेदन बुझाएका हुन्।

उक्त निवेदनमा प्रधानमन्त्री ओलीले भन्दै आएको ‘मुलुकलाई भ्रष्टारचारमुक्त बनाई देशमा सुशासन कायम राख्न आफू जस्तोसुकै कदम उठाउन पछि नहट्ने’ कुराको स्मरण गराइएको छ।
निवेदनमा यसअघिको सरकारले अनियमितता गर्नेलाई कारबाही गर्नुको सट्टा संरक्षण गरेकाले केन्द्रमा थप अनियमितता मौलाएको उल्लेख गरिएको छ। उक्त निवेदनमा केन्द्रले आफ्नै हल हुँदाहुँदै ‘दुईघण्टे कार्यक्रमलाई साढे १५ लाख ⁄’ शीर्षकमा नेपाल समाचारपत्रमा हालै प्रकाशित समाचारलाई प्रमाणको रूपमा राखिएको छ। उक्त समाचार छापिएपछि केन्द्रले निर्धारित कार्यक्रमस्थल रद्ध गरी आफ्नै भवनमा कार्यक्रम गरेको थियो।

निवदेन पत्रमा केन्द्रमा करोडौं रुपिया चलखेल भइरहँदासमेत कारबाही नभएको उल्लेख गर्दै अनियमिततामा सघाउने केन्द्रका तथ्यांक, लेखा र प्रशासन शाखाका कर्मचारी र त्यसमा नर्वेजियन सहयोगी संस्थाका कार्यक्रम संयोजकको मिलेमतो रहेको नामै किटान गरिएको छ। सो कार्यक्रममा प्रमुख अतिथिको बोलाइए पनि नेपाल समाचारपत्रमा प्रकाशित समाचारबारे जानकारी पाएपछि प्रधानमन्त्री उक्त कार्यक्रममा नजानुभएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

यसैबीच समाचार स्रोतका अनुसार क्षयरोग केन्द्रको २५ प्रतिशत निर्माण कार्य पूरा भइसकेको अस्पताल भवनको वैधतामाथि शंका गरी नगरपालिकाद्वारा दुई महिनाअघि ताला लगाइएको भवनको शिलान्यास गराउन लगाई प्रधानमन्त्रीलाई हिलो छ्याप्ने काम गराउन क्षयरोग केन्द्रका निर्देशकको टोली डटेर लागेको थियो।

तर, प्रधानमन्त्री कार्यक्रममा नजाने भएपछि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई शिलान्यास गराउन लगाइएको थियो। सरकारकै एउटा अंगले अवैध भनी रोकेको भवनको शिलान्यास अर्को अंगले गर्न लगाएपछि झन् विवाद सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्