कलाकर्मीहरूलाई सम्मान



लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले स्थापनाको २४औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कलाकर्मी तथा स्रष्टालाई यस वर्ष पनि सम्मान गर्ने भएको छ।

मन्दिरले जनाएअनुसार कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई सरस्वती सम्मान, संगीतकार शुभबहादुर सुनामलाई नारायणगोपाल संगीत सम्मान, चित्रकला शशिकला तिवारीलाई अरनिको ललितकला सम्मान, अभिनेतृ तथा रंगकर्मी मिथिला शर्मा (बोहरा) लाई बालकृष्ण सम रंग सम्मानबाट सम्मानित गरिनेछ। त्यसै गरी आख्यानकार भागिरथी श्रेष्ठलाई गंगादेवी चौधरी स्मृति सम्मान, इतिहासकार तथा अनुसन्धाता प्रेम खत्रीलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान, कथाकार तथा पत्रकार फूलमान बललाई नेपाल नवप्रतिभा सम्मानद्वारा सम्मानित गरिने मन्दिरले जनाएको छ। आगामी वैशाख २७ गते राजधानीमा आयोजना गरिने समारोहबीच सम्मान प्रदान गरिने पनि मन्दिरले जनाएको छ।

गंगादेवी चौधरी स्मृति सम्मानको राशि नगद १ लाख रुपियाँ तथा अन्य सम्मानको राशि नगद ५१ हजार रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्