गर्भवतीको आराम कक्षमा चमेना गृह



रोशन पराजुली
हेटांैडा अस्पताल परिसरमा रहेको गर्भवती प्रतीक्षा गृह (आराम गर्ने भवन) मा चमेना गृह सञ्चालनमा छ।

गर्भवतीलाई सहजताका लागि बनाइएको भवनमा ७ वर्षदेखि चमेना गृह सञ्चालनमा रहेको हो। जुन भवन बिरामीलाई तातोपानीदेखि नर्स, डाक्टर, कुरुवाको ‘खाजा घर’ बन्न पुगेको छ। गर्भवतीका लागि बनाइएको प्रतीक्षा गृहमा अस्पतालले खाजा घर बनाइदिँदा गर्भवती चौतारीमा बस्न बाध्य छन्। सरकारले स्थानीय तहमा गर्भवती प्रतीक्षास्थल निर्माण शुरु गरेको छ। तर, जिल्ला अस्पतालमा उक्त स्थल अर्कै प्रयोजनमा रहँदा लाजमर्दो अवस्था छ।

आइतबार जनस्वास्थ्य कार्यालयको एक कार्यक्रम प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले अस्पताल परिसरमा रहेको चमेना गृह चाँडै खाली गराउन छलफल गरी निर्णय गरिने बताउनुभयो। यसलाई खाली गर्न स्थानीय जनप्रतिनिधि, अस्पताल विकास समिति र नागरिक समाजका प्रतिनिधिबीच छलफल गरी निर्णय लिने उहाँले बताउनुभयो।

यस विषयमा अस्पताल विकास समिति अध्यक्ष रमेश गिरीलाई सम्पर्क गर्दा उनले डा. कमल दवाडीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो। डा. दवाडीलाई सम्पर्क गर्दा अस्पतालका सूचना अधिकारीलाई सम्पर्क गर्न भनियो। तर, सूचना अधिकारी हीरा ठाकुरले आफूलाई यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो।

अस्पतालका जिम्मेबार व्यक्तिहरू यस विषयमा पन्छन खोजेको देखिन्छ। चमेना गृहबारे हालसम्म कसैले पनि चासो नदिएको र आवाज नउठाएकाले चमेना गृह सञ्चालन भएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठकले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्