एन्फा निर्वाचन स्थगित



काठमाडौं, नेस
यसै साता हुने भनिएको अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ।

पाटन अदालतले एन्फाको निर्वाचन नगराउनु भन्ने आदेशलाई आधार मान्दै एन्फाले अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको आइतबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ।

एन्फा निर्वाचन चैत १४ गतेका लागि तय भएको थियो। एन्फालाई विपक्षी बनाई भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटको सुनुवाइमा उच्च अदालत पाटनले एन्फा निर्वाचन नगराउन आदेश जारी गरेको थियो। अदालतको आदेशपछि पनि विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले भने एन्फालाई चैत १४ गते नै निर्वाचन गर्न पत्राचार गरेको थियो।

भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुखजु र मकवानपुर जिल्ला फुटबल संघका उपाध्यक्ष मनिष श्रेष्ठले आफूहरूलाई जिल्ला निर्वाचनमा सहभागिताबाट वञ्चित गराएको भन्दै चैत ७ गते रिट दायर गरेका थिए। न्यायाधीश राजकुमार वनको एकल इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षी एन्फालाई १५ दिनभित्र कारण देखाउ आदेश जारी गरेपछि एन्फाको निर्वाचन अन्योलमा परेको थियो।

एएफसी टोली नेपाल आउने
एन्फा निर्वाचन स्थगित बारे थप जानकारी र अध्ययनका लागि एसियन फुटबल कन्फेडरेसन (एएफसी) को टोली सोमबार नेपाल आउने एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले जानकारी गराए।

एन्फाले नेपालको प्रचलित कानुनबमोजिम निर्वाचन निर्र्धािरत मितिमा गर्न नसक्ने आशयपत्र पठाएपछि एएफसीको टोली सोमबार नेपाल आउन लागेको हो। एएफसी टोलीले पछिल्लो घटनाक्रमका बारेमा अध्ययन गरेपछि निर्वाचनका विषयमा थप प्रष्ट हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्