ब्राजिलको सहज जित



लन्डन, (एजेन्सी)
आगामी जुनदेखि शुरू हुने विश्वकप जित्ने दाबेदारमध्यको एक टोली ब्राजिलले शुक्रबार राति भएको अन्तर्राष्ट्रियमैत्री खेलमा सहज जित हात पारेको छ।
विश्वकपमा फाइनलसहित ७ खेल आयोजना हुने रुसको लुजनीकी रंगशालामा ब्राजिलले आयोजक राष्ट्र रुसलाई ३–० गोलअन्तरले हराएको हो।

नेयमारबिनाको ब्राजिलले रुसलाई हराउन १३ मिनेटको समय नै पर्याप्त भएको थियो। पहिलो हाफ गोलरहित सकिएको खेलमा ब्राजिलले दोस्रो हाफमा तीनै गोल गरेको थियो।

मिरान्डाले रुसी गोलकिपर इगोर अकिनफीभले रोकेको बल रिबाउन्ड हुँदा गोल सम्भव पारेका थिए। त्यसपछि पाउलिन्होलाई पेनाल्टी क्षेत्रमा एलेकसान्डर गोलोभिनले लडाएपछि फिलिप काउटीन्होले पेनाल्टी सदुपयोग गरे। २–० को अग्रता लिएको टोलीका लागि पाउलिन्होले क्लोज रेन्जमा विलियनसको क्रसमा गोल थपेका थिए। योसँगै पाँच पटकको विश्व च्याम्प्यिन ब्राजिल लगातार ८ खेलमा अपराजेय रहेको छ। ब्राजिलले अर्को मैत्री खेल बर्लिनमा विश्व च्याम्पियन जर्मनीसँग खेल्नेछ। त्यस्तै रुसले सेन्ट पिटर्सबर्गमा फ्रान्ससँग सामना गर्नेछ।

यसै गरी विश्वकप अगाव तयारीका लागि भइरहेको अन्तर्राष्ट्रियमैत्री खेलअन्तर्गत अर्को खेलमा पोर्चुगलले अन्तिममा इज्जत बचाएको थियो। युरो च्याम्पियन पोर्चुगलले जुरिचमा भएको इजिप्टविरुद्धको खेल २–१ ले जितेको थियो। ९० मिनेटसम्म इज्जत मोहम्मद सालेहको गोलको सहयोगमा १–० ले अगाडि थियो। जितकै निकट पुगिसकेको टोलीलाई क्रिस्टियानो रोनाल्डोले इन्जुरी समयमा २ गोल गरेर निराश पारेका थिए। पोर्चुगलले नेदरल्यान्डस्सँग अर्को खेल खेल्नेछ।

यसै गरी इंग्ल्यान्डले पनि जित हात पारेको थियो। इंग्ल्यान्डले नेदरल्यान्डस्लाई १–० गोलअन्तरले हराएर सो टोलीमाथि नोभेम्बर १९६९ पछि पहिलो अवे जित हासिल गरेको थियो। टोलीको जितमा जेसे लिन्गार्डले गरेको गोल नै निर्णायक भएको थियो। इंग्ल्यान्डले अर्को खेलमा ग्रीससँग खेल्ने कार्यक्रम रहेको छ।

जर्मनी रोकियो
ब्राजिलमा भएको गत विश्वकपमा च्याम्पियन बनेको जर्मनीले स्पेनसँग बराबरी खेलेको थियो। स्पेनका रोडिगो मोरेनोले अग्रता दिलाएको खेलमा जर्मन थोमस मुलरले बराबरी गोल फर्काएका थिए। यस्तै सोही विश्वकपमा जर्मनीसँग हारेको अर्जेन्टिनाले इटालीलाई २–० ले पराजित गर्यो। टोलीका जितमा एभर बानेगा र मेनुयल लान्जिनीले गोलको योगदान दिएका थिए। फ्रान्स भने कोलम्बियासँग ३–२ गोलअन्तरले हार्न पुग्यो। २–० ले अग्रता लिएको फ्रान्सले पछि ३ गोल बेहोरेपछि हारेको थियो।

प्रतिक्रिया दिनुहोस्