बलेवा विमानस्थलमा नियमित उडान शुरू



पहिलो उडानमै नगरपालिकालाई ३२ हजार आर्थिक भार

सिर्जना पन्त, बागलुङ
२६ वर्षदेखि बन्द रहेको बलेवा विमानस्थल शुक्रबारबाट नियमित सञ्चालनमा आएको छ। तारा एयरको नाइन एन एईटी जहाज नियमित उडानको पहिलो दिन १५ जना यात्रुसहित चालक दलका तीन सदस्य शुक्रबार दिउँसो बलेवा एयरपोर्ट अवतरण भएका थियो। हवाई सेवाको पहिलो उडानबाट बागलुङ आउने याुत्र तथा चालक दलका सदस्यलाई बलेवा एयरपोर्टमा बाजा गाजासहित दोसल्ला र अविर लगाएर स्वागत गरिएको थियो। पहिलो उडानबाट आएका यात्रुलाई बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्कालगायत नगरभित्रका वडाध्यक्षले विमानस्थलमा स्वागत गरेका हुन्।

पहिलो व्यावसायिक उडान भरेर बलेवा आएका क्याप्टेन सञ्जीव श्रेष्ठले उडान र अवतरणका लागि कुनै समस्या नभएको बताउनुभयो।‘आज त मौसम पनि सफा थियो, उडान अवतरणका लागि कुनै समस्या छैन,’ उहाँले भन्नुभयो–‘हामीले भनेअनुसार रुख पनि काटिएका छन्। अब यात्रुको फ्लो बढाउन सके राम्रो हुन्छ।’ लामो समयदेखि बन्द विमानस्थल सञ्चालनमा आउँदा खुसी बनेका स्थानीय भाडादर सुनेर भने झस्किएका छन्। एयरलाइन्स कम्पनीले शुरूमै छ हजार सात सय भाडा उल्लेख गरेपछि यहाँका स्थानीयमा विमानस्थल लामो समय सञ्चालनमा आउन सक्दैनकी भनेर झस्केका हुन्।

विमानस्थल सञ्चालनको लागि यात्रु अपुग भएमा आफूले भाडादर व्यहोर्ने सम्झौता गरी विमान कम्पनीसँंग सम्झौता गरेको बागलुङ नगरपालिकालाई पहिलो दिन साढे ३२ हजार आर्थिक भार परेको छ। पहिलो दिन काठमाडौंबाट बागलुङ आउँदा पूरा यात्रु भए पनि बागलुङबाट काठमाडौं जाने बेला ५ जना यात्रु नपुगेपछि नगरपालिकालाई प्रतिटिकट ६ हजार ५ सयका दरले व्ययभार परेको नगरपालिकाका कर्मचारी भिमसेन पन्तले बताउनुभयो। नियमति उडानका क्रममा १२ जनाभन्दा कम यात्रु भएको खण्डमा नपुगेका यात्रुसंख्या बराबरको रकम नगरपालिकाले व्यहोर्ने सहमति भएको छ। पहिलो दिन बागलुङबाट सात जना यात्रुमात्रै काठमाडौं उडेका छन्।

प्रतिक्रिया दिनुहोस्