सहनशील नारीको वेदना र खुशी



प्रशान्त वली
साहित्यकार एवं पत्रकार सविन प्रियासनको पाँचौं उपन्यास सहनशीला बजारमा आएको छ। यसभन्दा अगाडि उनका पल्लवी, पुनरागमन, भूमरी र रोदनपछिको नामका उपन्यास प्रकाशित भइसकेका छन्। उनको पछिल्लो उपन्यास सहनहशीलामा प्रेमको परिभाषालाई सही तरिकाले विश्लेषण गरिनुका साथै घरबार र जीवन कसरी सुन्दर हुन सक्छ भन्ने कुरा दर्शाइएको छ।

सबैलाई चाहिने भनेकै घरपरिवार हो भन्ने निष्कर्ष उपन्यासले दिएको छ। घरपरिवारमा कलह आइरहेको समयमा सहनशीला उपन्यासले महिला–पुरुष दुवैलाई आ–आफ्नो कर्तव्यबोधमा बाँध्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ।

उपन्यासको मुख्य पात्र सहनशीलाले १२ वर्षपछि श्रीमान्को माया पाएको प्रसंग उपन्यासमा छ। घरपरिवारको बारेमा गहन किसिमले कुरा नबुझी प्रेम विवाह गरेको, त्यसपछि १२ वर्षसम्म श्रीमान् अरू नै केटीको प्रेममा डुबेको, यस अवधिमा सहनशीलाको जीवनमा दुःखका पहाडहरू आएको, जस्तोसुकै दुःख आउँदा पनि सहँदै घरबार धानेको कथावस्तुमा उपन्यास रुमलिएको छ। सुदुरपूर्व माइती भएकी सहनशीलाको सुदूरपश्चिममा विवाह भएको हुन्छ। टाढा विवाह हुँदा झेल्नुपर्ने समस्या पनि उपन्यासमा देखाइएको छ।

स–साना समस्या आउँदा घरपरिवारबाट टाढिएर बाहिरी संसार बनाउन खोज्नुभन्दा समस्यालाई समाधान गरेर घरपरिवार राम्रो बनाउनुपर्छ भन्ने चेत उपन्यासले दिन खोजेको छ। गल्ती गर्नेहरूले पश्चात्ताप गर्दै सम्बन्धित व्यक्तिसँग माफी माग्नुपर्छ भन्ने कुरालाई पनि उपन्यासमा उठाइएको छ।

त्याग, समर्पण, निष्ठा, विश्वास मनमा हुँदा सुखका दिनहरू आउँछन् भन्ने कुरालाई उपन्यासले सन्देशका रूपमा दिन खोजेको छ। सहनशीलाले १२ वर्षपछि श्रीमान्को चोखो माया फिर्ता पाउँछिन्। अन्त्यमा उनीहरूको घरबार राम्ररी अगाडि बढ्छ। सहनशीलाले दिन खोजेको सन्देशलाई आत्मसात् गर्ने हो भने कसैको पनि घरबार लथालिंग हुनेछैन। यस उपन्यासलाई ब्रदर बुक्स प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको हो। १ सय ९१ पृष्ठको सहनशीलाको मूल्य २६०।– रुपियाँचाहिँ अलि बढी भयो कि जस्तो लाग्छ।

प्रतिक्रिया दिनुहोस्