पेट्रोलियम पाइपलाइनले गति लियो



नेपाल समाचारपत्र
काठमाडौं
बहुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन निर्माण आयोजनाले तीव्रता पाएको छ।आयोजनाको वेल्डिङ गर्ने काम शुरू भएसँगै आयोजनाले को कामले तीव्रता पाएको हो।

‘भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपलाई जोड्ने काम भइरहेको छ। साथै पाइप पनि आइरहेको छ।’रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन आयोजनाका मेकानिक इन्जिनियर सरोजप्रसाद पौडेलले बताउनुभयो।

उहाँका अनुसार हालसम्म २ किलोमिटर पाइप जोड्ने काम भइसकेको र पाइपको रेडियो ग्राफिक टेस्टको (एक्से–रे) काम पनि सँगै भइरहेको पौडेलले बताउनुभयो। राति १२ बजेपछि मात्रै रेडियो ग्राफिक टेस्ट गरिने हो । मानव शरीरलाई नकरात्मक असर गर्ने हुँदा १० मिटरसम्म मानिसको आवागमन बन्द गरेर काम गर्दै आएको छ। यसरी पाइपको रेडियोग्राफी टेस्टको रिपोर्ट भने भारतीय आयल निगम (आईओसी) मा जानेछ। आईओसीले रिपोर्ट आएपछि भने पाइप बिच्छाउने काम शुरू हुने निगमले जनाएको छ।

पाइप आउँदा नै प्लास्टिक कोटिङ आउने हो। तर, पाइप जोड्ने ठाउँमा भने कोटिङ नगरी आउने हँुदा पाइप जोडेपछि पुनः कोटिङको काम भइरहेको पौडेलको भनाइ रहेको छ। आयोजनालाई चाहिने पाइपले २५ किलोमिटरको पाइप पनि आइसकेको छ, बाँकी आउने क्रममा रहेको छ। यसका अलवा आयोजना निर्माणका लागि चँहिने मेसिनलगायतका आवश्यक सामग्री आइसकेको पौडेलले बताउनुभयो। काम शरू भएको ३६ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने पौडेलको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हँुदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो।

शुरूमा रक्सौल–वीरगन्ज–अमलेखगन्ज पाइपलाइन परियोजना ३६ दशमलव २ किलोमिटरको दूरीमा रहेको भए पनि हाल मोतीहारीदेखि अमलेखगन्जसम्म विस्तार गर्ने लागिएको हो। भारतले पटनादेखि मोतीहारी साढे ३३ किलोमिटर र मोतीहारीदेखि रक्सौल ४३ किलोमिटर र रक्सौलदेखि अमलेखगन्ज ३६ दशमलव २ किलोमिटर भारतले बनाउन लागेको हो।

पहिलो चरणको यो आयोजना निर्माणसँगै एलपीजी ग्याँसको पाइपलाइन निर्माणमा समेत आईओसी सकारात्मक रहेको निगमले बताएको छ। निर्माण सम्पन्नपछि साथै पाइपलाइनलाई अलेखगञ्जबाट विस्तार गरी चितवनसम्म पुर्याउने सरकारको लक्ष्य रहेको छ र यसमा भारत सरकारसमेत सकरात्मक रहेको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये आईओसीको २ अर्ब र नेपालको ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। यसमध्ये ७५ प्रतिशत लगानी आईओसी र बाँकी २५ प्रतिशत लगानी नेपाल आयल निगमले गर्नेछ।

पाइपलाइनबाट प्रतिघण्टा १ सय ९१ किलोलिटर पेट्रोलियम रक्सौलबाट अमलेखगन्जसम्म आउने छ। त्रिभुवन राजपथको किनारैकिनार जमिनमुनि बिछ्याइने छ। पाइपलाइन निर्माण भएपछि ढुवानी खर्चमा निगमको वार्षिक करिब १ अर्ब रुपियाँ बचत हुने निगमका निमित्त प्रमुख सुशील भट्टराईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्