अन्तर्राष्ट्रिय फुटबल म्याचको खडेरी



कविरस शर्मा
घरेलु लिगलाई फुटबलको मेरुदण्डको रूपमा लिइन्छ। तर, कहिलेकाहीं बलियो घरेलु लिगका बाबजुद पनि राष्ट्रिय टिमलाई असफलता हात लागेको थुप्रै उदाहरण छन्। यसको मुख्य कारणमध्येको एक हो अन्तर्राष्ट्रिय म्याचको अभाव। फिफा विश्वकप २०१८ पनि नजिकिएको छ। विश्वकपको अन्तिम ३२ मा छनोट भएका टोली अहिले प्रदर्शनलाई तिखार्न प्रशिक्षणमा व्यस्त छन्।

विश्वकपमा छानिएका टोलीलाई जसरी अन्तर्राष्ट्रिय म्याचको आवश्यकता छ, त्यसरी नै अन्य राष्ट्रिय फुटबल टिमहरूको हकमा पनि यो लागू नहुने कुरै हुँदैन। एसियाका धुरन्धर फुटबल राष्ट्रहरू यो विषयमा निक्कै चनाखो छन्। जापान, दक्षिण कोरिया जस्ता एसियाली फुटबलका पावर हाउस राष्ट्रहरूले अन्तर्राष्ट्रिय म्याचका लागि बर्सेनि क्यालेन्डर नै तयार पारेको हुन्छ। तर, दक्षिण एसियाली राष्ट्रहरूले भने यो संस्कारलाई अँगाल्न सकेका छैनन्।


हुन त दक्षिण एसियाली राष्ट्रको स्तरमा खासै भिन्नता छैन। तर, नतिजालाई आधार मान्ने हो भने भारत बढी सफल भएको पाउँछौं। सन् २०१९ मा हुने एएफसी एसियन कपमा समेत भारत समूह विजेताको हैसियतले छनोट भइसकेको छ। बर्सेनि खेलिने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचको आँकडा हेर्ने हो अन्य राष्ट्रको तुलनामा भारत दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मान्न सकिन्छ। सायद यसको रहस्यका रूपमा दक्षिण एसियामा भारतको बलियो घरेलु लिग संरचनाबाहेक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचहरू नै हुन्।

फेरि कहिले भरिएला दशरथ रंगशाला
नेपालमा पनि फुटबलको क्रेज अत्यधिक छ। तर, वर्तमान परिप्रेक्षमा नेपाली दर्शकले आफ्नो भूमिमा फुटबलको अन्तर्राष्ट्रिय म्याच हेर्न नपाएको लामो समय बितिसकेको छ। केही वर्षअघिसम्म उमेर समूहको छनोट होस् वा अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरू, दशरथ रंगशालामा महँगो टिकट मूल्य तिरेर पनि दर्शकको बाक्लो उपस्थिति हुने गर्दथ्यो। त्यतिमात्र होइन, अत्यधिक दर्शकका कारण रंगशालाभित्र नअटेका दर्शकलाई हटाउन प्रहरीले लाठीचार्जसम्म गर्नुपर्ने अवस्था सिर्जना हुने गथ्र्याे। तर, अहिले त्यो वातावरण देखिन छोडेको छ।

देशको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालाको पुनर्निर्माण यसको कारण हो। तर, यसको विकल्पको रूपमा मोफसलको रंगशालालाई स्तरोन्नतिका लागि पहल गर्न जरुरी छ। यदि दशरथ रंगशालाको विकल्पको रूपमा सीमित मान्छे अटाउने सशस्त्र प्रहरीको हलचोकस्थित मैदान र सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम घाँसे मैदानलाई मात्र प्रयोग गरिने हो भने दर्शकमाथि अन्याय हुनेछ। अनि दशरथ रंगशालाको निर्माण सम्पन्नको मिति कुर्ने हो भने अझै धेरै दर्शकले लामो समय अन्तर्राष्ट्रिय फुटबल हेर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ। यसले दर्शकमा त नैराश्यता छाउँछ नै, अन्तर्राष्ट्रिय म्याचको अभावका कारण राष्ट्रिय टिमको प्रदर्शनमा समेत नकारात्मक प्रभाव पर्ने निश्चित छ।

मोफसलको भरमा वर्तमान फुटबल
यसमा कुनै दुईमत छैन, नेपालमा अन्य खेलभन्दा फुटबल चर्चित छ। तुलनात्मकरूपमा अन्य खेलमा भन्दा नेपाली फुटबलमा लगानी पनि अधिक नै छ, तर नतिजा भने धेरैजसो निरासाजनक नै आउने गरेको छ। एएफसी एसियन कप छनोट चरणबाट बाहिरिसकेको नेपालले आगामी मार्च २७ मा यमनविरुद्ध खेल्दै छ। प्रतिष्ठामा सीमित उक्त म्याच करिब साढे चार महिनापछि खेल्न लागेको नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ।

एएफसी एसियन कप छनोटअन्तर्गत गत नोभेम्बर १४ मा फिलिपिन्सविरुद्ध आफ्नै भूमिमा गोलरहित बराबरी खेलेयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको छैन। लामो समयको लिग विश्रामले प्रभावित बनेको नेपाली फुटबललाई मोफसलमा आयोजित गोल्डकप प्रतियोगिताले राहतको अनुभूति गराए पनि राष्ट्रिय टिमको स्तर उकास्न त्यो पर्याप्त छैन।

त्यसका लागि बढीभन्दा बढी अन्तर्राष्ट्रिय म्याच खेल्न आवश्यक छ। कुनै पनि देशमा जतिसुकै बलियो घरेलु लिग किन नहोस्, मुख्यतः सम्बन्धित खेल संघले खेलको स्तरलाई उकास्ने संयन्त्र निर्माण गरेन भने त्यो अर्थहीन हुन्छ। एकातिर स्वदेशी अनगिन्ती घरेलु प्रतियोगिता आयोजना गर्नु र अर्कोतिर राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय म्याचमा लज्जास्पद हार बेहोर्नाले खेलको स्तर बढ्यो भनेर मान्न सकिन्न।

जितको स्वाद नचाखेको १६ महिना
सन् २०१६ को नोभेम्बरमा सोलिडारिटी कप जितेपश्चात् नेपालले गत मार्चमा एसिया कप छनोट चरणअन्तर्गत समूह ‘एफ’ को खेल खेलेको थियो। जसअन्तर्गत फिलिपिन्ससँग उसैको घरेलु मैदानमा भएको पहिलो लेगको खेलमा नेपाली टोली ४–१ ले पराजित भएको थियो। त्यसको ३ महिनापछि नेपाली फुटबल टिमले भारतसँग मुम्बईमा मैत्रीपूर्ण म्याच खेलेको थियो। जहाँ नेपाली टोली भारतसँग २–० ले पराजित भएको थियो। सोही महिना नै एसिया कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा यमनको सामना गरेको थियो। जहाँ घरेलु मैदानको फाइदा उठाउँदै वरीयतामा आफूभन्दा माथि रहेको यमनसँग गोलरहित बराबरी खेलेर नेपालले समूहमा एक अंक जोड्न सफल भएको थियो।

त्यसपछि नेपाली टोलीले ताजिकिस्तानविरुद्ध दुई म्याच खेलेको थियो। ती दुवै खेलमा नेपालले पराजयको सामना गर्नुपरेपछि एसिया कप छनोट चरणबाटै नेपाल बाहिरियो। ताजिकिस्तानसँग सेप्टेम्बरमा सातदोबाटोस्थित घरेलु मैदान एन्फा कम्प्लेक्स भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो। त्यसको एक महिनापछि अवे म्याच खेल्न ताजकिस्तान पुगेको नेपाली टिमले झनै खराब प्रदर्शन गर्दै ३–० गोलअन्तरको हार बेहोरेको थियो। उक्त नतिजापछि एसिया कप छनोट चरणबाट बाहिरिसकेको नेपाली फुटबल टिमले वरीयतामा आफूभन्दा माथिको फिलिपिन्सलाई आफ्नै घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको थियो।
सोलिडारिटी कप जितेयता नेपाली फुटबल टिमले १६ महिना बितिसक्दा पनि जितको स्वाद चाख्न पाएको छैन। यस अवधिमा नेपालले ६ खेलमा ११ गोल बेहोरेको छ भने विपक्षीविरुद्ध नेपालका दुई गोल मात्र फर्काएको छ। समग्रमा नेपाली फुटबलको स्तर खस्कनुमा घरेलु लिग रोकिनु र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याचको अभावलाई नै प्रमुख कारण मान्न सकिन्छ। यी दुई कारणलाई ध्यान नदिने हो भने अबका दिनमा नेपाली फुटबलमा उदीयमान र प्रतिभाशाली खेलाडी पलायनको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। यदि यस्तो भएमा नेपाली फुटबलको स्तर अझै नखस्किएला भन्न सकिन्न।


नेपाली फुटबलको सुखद वर्ष
नेपाली फुटबलको इतिहासलाई हेर्ने हो भने अन्तर्राष्ट्रिय उपाधि जित्नुलाई अपवादको रूपमा मान्न सकिन्छ। दक्षिण एसियामा १९⁄२० को स्तर भए पनि एसियामा नेपाली फुटबलले कुनै प्रभावशाली प्रदर्शन गर्न सकेको छैन। अन्य समयमा भन्दा सन् २०१६ मा नेपाली फुटबलको प्रदर्शनलाई सन्तोषजनक नै मान्न सकिन्छ। उत्कृष्ट प्रदर्शनका बाबजुद पनि सधैं हार बेहोर्ने नियतिलाई मेटाउँदै सन् २०१६ मा लगातार तीन उपाधि जितेर नेपाली फुटबलले सनसनी मच्चाएको थियो।

अझ सन् २०१६ को नोभेम्बरमा मलेसियामा आयोजना भएको एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउलाई पराजित गर्दै नेपालले पहिलोपटक उपाधि जितेको थियो। एसियाली फुटबल महासंघ (एएफसी) ले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पहिलोपटक उपाधि जितेर नेपाली फुटबल जगत्ले नयाँ इतिहास कोरेको थियो। बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद र एएफसी सोलिडारिटी कपमा पाएको सफलताले नेपाली फुटबलको स्तर बढेको महसुस गराएको थियो। उक्त नतिजापछि नेपाली फुटबल राम्रो लय जाने अनुमान गरिएको थियो। तर, २०१८ सम्म आइपुग्दा नेपाली फुटबलमा पुनः पुरानै रोग बल्झिसकेको छ।

सोलिडारिटी कप जितेपछि नेपालले एएफसी एसिया कप २०१९ अन्तर्गत छनोट खेल्ने मौका पाएको थियो। सोलिडारिटी कप प्रतियोगितासम्म ठीकठाक प्रदर्शन गरेको नेपाली राष्ट्रिय टोलीले त्यसपश्चात् कुल ६ वटा अन्तर्राष्ट्रिय म्याच खेलेको थियो। जसअन्तर्गत ५ खेल एसिया कप छनोट तथा एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सामेल छन्। तर, ती म्याचमध्ये नेपालले चार खेलमा हार र दुईमा बराबरीको नतिजा आत्मसात गर्यो।

प्रतिक्रिया दिनुहोस्