शेयर बजार दुई वर्ष यताकै न्यून बिन्दूमा, एकै दिन २९ अर्ब गुम्यो



नेपाल समाचारपत्र
काठमाडौं
शेयर बजार दुई वर्षकै न्युन बिन्दूमा पुगेको छ। विगत केही समयदेखि निरन्तर ओरालो लाग्दै आएको शेयर बजार बुधबारको कारोबारपछि १ हजार २ सय ३१ दशमलव शून्य ७ अंक कायम हुँदै दुई वर्ष यता कै न्यून बिन्दूमा पुगेको हो।

साताको चौथो दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ। मंगलबार १५ दशमलव शून्य ५ अंक अर्थात १ दशमलव १८ प्रतिशतले घटेको बजार बुधबार २४ दशमलव ४० अंक अर्थात १ दशमलव ९५ प्रतिशतले घटेको छ। १ सय ५२ कम्पनीका ९ लाख ४५ हजार ५ सय ३७ कित्ता शेयर खरिद बिक्रीबाट यस दिन ३८ करोड ३२ लाख १५ हजार ४ सय ७४ रुपियाँ बराबरको कारोबार भएको छ। यस दिन समग्र बजार पुँजीकरण अघिल्लो दिनको तुलनामा २९ अर्बले घटेर १४ खर्ब ४१ अर्ब रुपियाँमा समेटिएको छ।

बुधबार उत्पादन समूह ५८ दशमलव ४८ अंकले बढ्नुबाहेक अन्य सबै समूहको उपसुचक घटेको छ। बीमा समूहको उपसूचक सबैभन्दा बढी १ सय ८६ दशमलव ६९ अंकले घटेको छ। माइक्रोफाइनान्स समूहको उपसूचक ४८ दशमलव ५२ अंक, बैंकिङ समूहको उपसूचक २२ दशमलव ११ अंक, विकास बैंकको उपसूचक १३ दशमलव ८६ अंक, जलविद्युत् समूह २२ दशमलव ७ अंक, फाइनान्स समूह ६ दशमलव ४ अंक र होटल समूह २३ दशमलव ३१ अंकले र अन्य समूहको उपसूचक ९ दशमलव ८५ अंकले घटेका छन्।सबैभन्दा बढी शेयर कारोबार हुने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४६ लाख ७६ हजार ३ सय ५४ रुपियाँ बराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी नबिल बैंक लिमिटेडको २ करोड ६ लाख ८८ हजार ९ सय ६९ रुपियाँको शेयर कारोबार भएको छ। बुधबारको कारोबारमा १० वटा कम्पनीका शेयरधनीले मात्र नाफा कमाएका छन्। जसमध्ये युनिलिभर नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै प्रतिकिक्ता ६ दशमलव ११ प्रतिशतका दरले कमाएका छन्।

सबैभन्दा बढी गुमाउनेमा प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले प्रतिकित्ता ९ दशमलव शून्य ९ प्रतिशतका दरले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्