नर्भ एजेन्ट प्रकरण साइबर हमलाको खतराले बेलायतमा सतर्कता



लन्डन, (एजेन्सी)
पूर्वी रुसी जासुसमाथि बेलायतमा भएको विष आक्रमणको मामिलामा दुई देशबीच गहिरिएको कूटनीतिक तनावबीच बेलायतले सम्भावित रुसी साइबर हमलाको खतरा बढेको महसुस गरेको छ। उक्त खतरालाई ध्यानमा राखी बेलायतका बैंक, ऊर्जा तथा खानेपानी कम्पनीलाई उच्च सतर्कतामा राखिएको छ। रुसद्वारा बेलायतको महत्त्वपूर्ण राष्ट्रिय पूर्वाधारहरूलाई निसाना बनाउने खतरा बढेको अनुमान गरिएको छ।

युरोपेली संघमा रुसी कूटनीतिज्ञ भ्लादिमिर चिकोवले बेलायतको सेल्सिबेरीमा सेर्गेइ स्क्रिपल र उनी छोरी युलियामाथि भएको उक्त हमलामा प्रयोग भएको नर्भ एजेन्ट बेलायतको एक अनुसन्धान प्रयोगशालाले उपलब्ध गराएको हुन सक्ने बताएका थिए।

यसैबीच रुसको राष्ट्रपतिमा चौथोपटक निर्वाचित भएका राष्ट्रपति भ्लादिमिर पुटिनले उक्त घटनामा रुसको संलग्नता रहेको आरोपलाई ‘वाहियात’ भएको प्रतिक्रिया दिएका छन्। उनले यदि सोभियतकालीन विकास गरिएको उक्त नर्भ एजेन्ट प्रयोग भएको हो भने पीडितको तत्काल मृत्यु हुने बताए। रुसले धेरैअघि नै अन्तर्राष्ट्रिय पर्यवेक्षकको निगरानीमा सबै प्रकारका घातक रसायनिक हतियार नष्ट गरिसकेको पुटिनले बताए।

चिकोवको टिप्पणी आउनुअगाडि रुसको विदेश मन्त्रालयका प्रवक्ताले पनि यस मामिलामा बेलायत नै दोषी हुन सक्ने आशंका व्यक्त गरिएको थियो। उनले चेक गणतन्त्र, स्लोभाकिया, स्विडेन र सम्भवतः अमेरिकासँगै बेलायत आफै उक्त नर्भ एजेन्टको स्रोत हुन सक्ने प्रबल सम्भावना रहेको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्