१२ जिल्लाका सबै वडामा निःशुल्क इन्टरनेट



नरेन्द्र केसी, दाङ

कर्णाली प्रदेशका १० वटै जिल्ला र प्रदेश नम्बर ५ का दुई जिल्लामा निःशुल्क इन्टरनेट सेवा पुर्याउन जडान कार्य शुरू भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्मा अनुसार वल्र्ड लिंक कम्युनिकेसनले कर्णालीका १० जिल्ला तथा प्रदेश नम्बर ५ का पूर्वी रुकुम र रोल्पामा इन्टरनेट जडान शुरू गरेको हो। १२ वटै जिल्लामा टावर निर्माणको कार्य भइरहेको छ। १२ वटै जिल्लामा १ सय ६० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ६० वटा टावर निर्माण भइसकेको वल्र्ड लिंक कम्युनिकेसनका क्षेत्रीय प्रविधि प्रबन्धक राजेन्द्र विष्टले जानकारी दिनुभयो।

नयाँ वर्षको आगमनसँगै जुम्ला र रारामा इन्टरनेट सेवा शुरू गर्ने गरी काम अघि बढाइएको कम्पनीले जनाएको छ। यी जिल्लाका अधिकांश ठाउँमा अहिलेसम्म कुनै निजी इन्टरनेट सेवा प्रदायक (आइएसपी)ले सेवा दिन सकेको थिएन। ‘नयाँ वर्षको आगामनसँगै जुम्ला र रारामा हामी सेवा शुरू गर्छौं’– विष्टले भन्नुभयो–‘असार मसान्तसम्म ५० प्रतिशत ठाउँमा इन्टनरेट पुर्याइसक्छौं।’ कम्पनीले २०७५ असारसम्म परियोजना सम्पन्न गर्ने जिम्मा पाएको छ। त्यतिबेलासम्म सम्पूर्ण वडामा इन्टरनेट पुगिसक्ने विष्टले बताउनुभयो। इन्टरनेट सेवा पुगेपछि नगरपालिका कार्यालय, गाउँपालिका कार्यालय, नगरपालिका तथा गाउँपालिका वडा कार्यालय, माध्यामिक विद्यालय र स्वास्थ्य चौकीमा निःशुल्क सेवा दिइने छ। यसबाहेक अन्य संस्था वा व्यक्तिले प्रयोग गर्न चाहेमा निश्चित शुल्कको व्यवस्था गर्ने कम्पनीले जनाएको छ।

समुद्री सतहदेखि ४ हजार ३ सय मिटर उचाईसम्ममा टावर बनेकाले अब यी १२ जिल्लाका कुनै पनि वडा इन्टरनेट सेवाबाट वञ्चित नहुने विष्टले जानकारी दिनुभयो। कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, मुगु, हुम्ला, डोल्पा, जुम्ला र कालीकोट गरी १० जिल्ला रहेका छन्। यो सेवा पाँच नम्बर प्रदेशका पूर्वी रुकुम र रोल्पामा पनि लागू हुँदैछ।

यसैबीच पश्चिम नेपालको धार्मिक पर्यटनस्थल स्वर्गद्वारी मन्दिरमा फ्रि वाईफाई सेवा शुरू भएको छ। निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक कम्युनिकेसनले प्युठान खलंगाबाट लिंकअप गरेर स्वर्गद्वारीमा इन्टेरनेट जडान गरेको हो। यो सेवा जडान गरिएसँगै स्वर्गद्वारी दर्शन गर्न जानेले निःशुल्करूपमा वाईफाई सुविधा प्रयोग गर्न पाउने छन्। अहिले १० एमबी क्षमताको इन्टरनेट राखिएको र प्रयोगकर्ता बढे क्षमता थप गरिने वल्र्ड लिंक कम्युनिकेसनका क्षेत्रीय प्रविधि प्रबन्धक विष्टले जानकारी दिनुभयो।

कम्पनीका कार्यकारी प्रमुख केशव नेपाल स्वर्गद्वारी दर्शन आएको बेला इन्टरनेट सेवाको महशुस गरेर निःशुल्क नेट जडानका लागि निर्देशन दिएपछि सेवा शुरू गरिएको विष्टले जानकारी दिनुभयो। वाईफाईमा पासवर्ड नराखिएकाले जसले पनि प्रयोग गर्नसक्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्