नेपाली क्रिकेट टोलीलाई भव्य स्वागत



नेपाल समाचारपत्र
काठमाडौं
जिम्बावेमा ऐतिहासिक उपलब्धि हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरियो। साँझको समय भए पनि नेपाली क्रिकेटका समर्थक बाक्लै थिए। उनीहरूले नेपालको झण्डा र नेपाली क्रिकेटरको फोटो लिएर नेपाली टोलीलाई न्यानो स्वागत गरेका थिए। यस्तै भर्खरै मात्रै युवा तथा खेलकुद मन्त्री बनेका जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टलगायतले नेपाली क्रिकेट टोलीलाई स्वागत गरे।

नेपाली क्रिकेट टोलीको जिम्बावे उड्नुअगाडि नै लक्ष्य एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु थियो। कप्तान पारस खड्काले यो सपना पूरा भएको प्रतिक्रिया दिए। उनले विमानस्थलमा उपस्थित सञ्चारकर्मीलाई बताए– ‘हाम्रो सपना पूरा भएको छ। यो क्रिकेट इतिहासमै सबैभन्दा ठूलो उपलब्धि पनि हो। हामीले ओडीआई स्ट्याटस पाएपछि आगामी ४ वर्ष राम्रो क्रिकेट खेलेर नेपाली क्रिकेटलाई माथि उठाउनेछौं।’


त्यसो त नेपालको सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गर्ने धोको थियो। तर नेपाल समूह–बीमा चौथो स्थानमा रहेर सुपर सिक्समा खेल्न वञ्चित भएको थियो। त्यसमाथि स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) सुपर सिक्समा पुगेपछि नेपालको एकदिवसीय पाउने कठिन जस्तै देखिएको थियो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोट प्रतियोगिताअघि उत्कृष्ट नेदरल्यान्डस्बाहेक तीन एसोसिएट्स राष्ट्रलाई आगामी चार वर्षका लागि एकदिवसीय मान्यता दिने घोषणा गरेको थियो। स्कटल्यान्ड र यूएईले दुई स्थान भरेपछि नेपाल, हङकङ र पपुआन्युगिनी (पीएनजी) मध्ये एक टोली मात्रै एकदिवसीय मान्यता लिन सकिने समीकरण बन्यो। जसमा नेपालले पीएनजीलाई हराउनु र हङकङ नेदरल्यान्डससँग हार्नु नेपालले चाहेजस्तो नतिजा आयो। नेपालले यसपछि तेस्रो राष्ट्रको रूपमा एकदिवसीय मान्यता पाएको हो। नेपालले सातौं स्थानको प्लेअफ खेलमा भने नेदरल्यान्डसँग ४५ रनले हारेको थियो।

नेपालका लागि एकदिवसीय मान्यता पाउनु २२ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा सबैभन्दा ठूलो उपलब्धिसमेत थियो। नेपालले यस पटक नयाँ पुराना खेलाडीको समिश्रण गरी जिम्बावेको यात्रा गरेको थियो। जसमा नयाँ अनुहार भए पनि सन्दीप लामिछाने, आरिफ शेख, रोहितकुमार पौडेल, करण केसी र ललित राजवंशीले प्रशंसनीय प्रदर्शन गरेका थिए। जिम्बावेमा नेपालले ६ खेल खेलेकोमा २ खेल मात्रै जितेको थियो। नेपालले हङकङलाई समूह चरणमा र पीएनजीलाई प्लेअफ खेलमा हराएको थियो। समूह चरणमा स्कटल्यान्ड, अफगानिस्तान र जिम्बावेसँग हार्नु नै नेपाल सुपर सिक्समा पुग्न नसक्नुको कारण बन्यो।

प्रतिक्रिया दिनुहोस्