विमान दुर्घटनाका घाइते घर फर्किए



त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त यूएस बंगला विमानका घाइतेमध्ये २ जना सफल उपचारपछि आइतबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरूमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी रहेका छन्।

ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ अर्थोपेडिक सर्जन डा. चक्रराज पाण्डेले उपचारपछि डिस्चार्ज भई घर फर्कन लागेका दुवैजनालाई खादा लगाई र बुके दिएर शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना भएकाहरूमध्ये वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको भने उपचार जारी छ।

गतसाता सोमबार यूएस बंगला एयरलाइन्सको विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।

घाइतेमध्ये कपनका दयाराम ताम्रकार, बालकोटका किशोर त्रिपाठी र कीर्तिपुरका विनोदराज पौडेललाई ग्रान्डी अस्पतालको ईएमएस टिमले विमानस्थलबाट तथा विभिन्न अस्पतालबाट थप उपचारका लागि ग्रान्डी अस्पताल ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्