रेकर्ड तोड्न शत्रु गते बनाएका होइनौंः हरिवंश आचार्य



ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको फिल्म तथा टेलिफिल्म निर्माण कम्पनी मह सञ्चारले १७ वर्षपछि अर्को फिल्म बनाएको छ शत्रु गते। यही शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको शत्रु गतेलाई दर्शक तथा फिल्म क्षेत्रबाटै बहुप्रतिक्षित फिल्मका रूपमा हेरिएको छ। महका साथमा सफल फिल्म छक्का पञ्जाका निर्माता तथा कलाकारहरू पनि संलग्न फिल्मलाई लिएर धेरै कौतुहलता छाएको छ। यिनै विषयमा फिल्मका निर्माता तथा प्रमुख कलाकार हरिवंश आचार्यसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः
रश्मी थापा

१७ वर्षको अन्तरालपछि फेरि फिल्म निर्माण र फिल्म अभिनयमा फर्किनुभयो। फिल्ममा फर्कन यत्रो समय किन लाग्यो ?

फिल्म नगरे पनि टेलिफिल्महरूमा काम गरिरहेका थियौं। टेलिफिल्ममा पनि कथा लेख्नुपर्छ, एक्टिङ गर्नुपर्छ। तर, ठूलो पर्दाको फिल्मचाहिँ हलमा जाने भएकाले अलि धेरै मेहनत गर्नुपर्छ। नेपाली फिल्मको स्थिति पनि राम्रो भएकाले पनि लामो समयपछि यसमा आएको हो। कुनै पनि नयाँ काम गर्दा मुटु ढुकढुक गर्छ, मेरो पनि मुटु ढुकढुक भइरहेको छ। तर, हामीले गरेको काम हेर्दा लाग्छ हामी आफ्नो काममा पास भएका छौं।

शत्रु गतेलाई लिएर दर्शकसँगै फिल्म क्षेत्रमै कौतुहलता छाएको छ। वास्तवमा यो फिल्म कस्तो बनेको छ ?

कुनै पनि फिल्मको आ–आफ्नै कथा व्यथा र परिवेश हुन्छ। शत्रु गतेको पनि आफ्नै किसिमको कथा छ। फिल्म निर्माण गर्ने शैली अरूको भन्दा फरक छ। यसमा गरिएको सुटिङ नै फरक त म भन्दिनँ। तर, अरू फिल्मभन्दा फरक छ।

शत्रु गतेमा तपाईंहरूको जोडीको साथमा छक्का पञ्जाको टिम पनि थपिएको छ। यो जम्बो टिमका कारण फिल्मलाई के फाइदा होला ?

दीपा–दीपक भनेको योभन्दा अघि नै फिल्मबाट नाम कमाएका हिट कलाकार हुन्। चम्केका कलाकारहरूलाई लिएर काम गर्दा फिल्मलाई राम्रो हुन्छ भनेर उनीहरूको लोकप्रियतालाई लिएर फिल्म बनाएको हो।

शत्रु गतेले छक्का पञ्जाको रेकर्ड तोड्ला कि नतोड्ला ? यसले कति कमाउला ?

हामीले कुनै पनि रेकर्ड तोड्नका लागि फिल्म बनाएको होइनौं। हामीले राम्रो फिल्म बनाउने कोशिष गरेका छौं। छक्का पञ्जाको रेकर्ड तोडे पनि ठीक छ नतोडे पनि सन्तुष्ट हुनेछौं। फिल्मले कति व्यापार गर्छ भनेर सोचेका छैनौं। तर, दर्शकले माया गर्नुहुनेछ भन्ने विश्वास लिएका छौं।

शत्रु गतेपछि अर्को फिल्म निर्माण गर्नेबारे पनि सोच्नुभएको छ कि ?

अर्को फिल्मको बारेमा पनि सोचेका छौं। यो फिल्म पनि मह सञ्चारबाट नै बन्छ। तर, यसको टिम र आर्टिस्ट भने फिक्स भएको छैन।

प्रतिक्रिया दिनुहोस्