चीनको रक्षा मन्त्रीमा वेइ विदेमन्त्री वाङको पदोन्नति



बेइजिङ, (एजेन्सी)
चीनले सोमबार देशको रक्षा मन्त्रीमा पूर्व क्षेप्यास्त्र एकाइ कमान्डरलाई नियुक्त गरेको छ। ६३ वर्षीय लेफ्टिनेन्ट जनरल वेइ फेङ चीनको मिसाइल युनिटलाई दुई हिस्सामा विभाजित हुनुअगाडि अन्तिम कमान्डर रहेका थिए।

अहिले यो युनिट पीएलए रकेट फोर्स र स्ट्रेटेजिक सपोर्ट फोर्समा विभाजित भएको छ। वेइ फेङलाई चीनको संसद् अर्थात् पिपल्स कांग्रेसले रक्षा मन्त्री पदका लागि चयन गरेको हो। रक्षा मन्त्री वेइले राष्ट्रपति सी जिन पिङद्वारा २३ लाख सैनिक रहेको शक्तिशाली चिनियाँ सेनामा व्यापक सुधार ल्याउन गरेका कदमको समर्थन गरेका थिए। सन् २०१३ मा राष्ट्रपति पदमा आसीन भइसकेपछि सीले देशको सेनाको ढाँचलाई पूरै परिवर्तन गर्ने अभियान थालेका थिए।

यसै वर्ष चीनले आफ्ना रक्षा बजेट बढाएर १ सय ७५ अर्ब डलर पुर्यो। यो गत वर्षको तुलनामा ८ दशमलव १ प्रतिशतले धेरै हो। सीको समथर्न गर्ने प्रतिबद्धता व्यक्त गर्ने वेइ विभागीय प्रमुख भएको र त्यसपछिका दिनहरूमा सीसँग लगातार भेटघात गर्ने व्यक्तिमध्येका एक भएको हङकङको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

विदेशमन्त्री वाङलाई थप जिम्मेवारी
दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा पुनः निर्वाचित भएपछि सीले विदेशमन्त्री वाङ यीलाई स्टेट काउन्सलर उच्च कूटनीतिक जिम्मेवारी सुम्पेका छन्। ६५ वर्षीय वाङ विदेशमन्त्री पदमा पनि रहिरहनेछन्। दुई पदको जिम्मेवारी बहन गर्ने चिनियाँ अधिकारीमा उनी पहिलो भएको बताइएको छ।

नेसनल पिपल्स कांग्रेसले विदेशमन्त्री पदका लागि वाङको नाममा समर्थन दिएको हो। चीनको सत्तामा पदको रोलक्रममा स्टेट काउन्सलरको पद विदेश मन्त्रीको पदभन्दा माथिको कूटनीतिक पद मानिन्छ। स्टेट काउन्सलरमाथि कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी)को नीतिहरू कार्यान्वयनलाई सुनिश्चित गर्ने जिम्मेवारी हुन्छ। वाङले यो स्थान याङ जिइचीबाट लिएका हुन्। उनी गत वर्ष पोलिटब्युरोका सदस्य बनेका थिए। चीनको पोलिटब्युरो सीको अध्यक्षतामा रहेको सीपीसीको एक उच्चस्तरीय संगठन हो।

प्रतिक्रिया दिनुहोस्