विप्रेषण आप्रवाहमा सामान्य वृद्धि



काठमाडौं, (नेस)
चालू आर्थिक वर्षको सात महिनासम्म विप्रेषण आप्रवाह १ दशमलव ७ प्रतिशतले वृद्धि भई ४०१ अर्ब ३५ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ दशमलव २ प्रतिशतले बढेको थियो।

खुद ट्रान्सफर आयमा भने ३ प्रतिशतले कमी आई ४६० अर्ब ८५ करोडमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८ दशमलव ३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंककले जनाएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको वित्तीय विवरणअनुसार श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ४ दशमलव ९ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६ दशमलव ७ प्रतिशतले घटेको थियो

अघिल्लो वर्षको सात महिनामा १० अर्ब ६६ करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १४१ अर्ब ६ करोडले घाटामा रहेको छ। समीक्षा अवधिमा आयात तथा विदेशी लगानीको लाभाशं भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको हो।

त्यसैगरी अघिल्लो वर्षको सात महिनामा ३६ अर्ब ९५ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा १८ अर्ब २८ करोडले घाटामा रहेको छ। त्यस्तै पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह १४ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब २५ करोड र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६० करोड रहेको थियो।

गत आवको असार मसान्तमा १०७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति रहेकोमा माघ मसान्तसम्म २ दशमलव ८ प्रतिशतले कमी आई १०४९ अर्ब २० करोड पुगेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तको ९२७ अर्ब २७ करोडको तुलनामा २०७४ माघ मसान्तमा १ प्रतिशतले वृद्धि भई ९३६ अर्ब २१ करोड पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा१५२ अर्ब १७ करोड रहेकोमा माघ मसान्तमा २५ दशमलव ७ प्रतिशतले कमी आई ११२ अर्ब ९९ करोड पुगेको छ। माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव ७ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्