रसियाको राष्ट्रपति चुनावमा सत्र सय अनियमितताको उजुरी पुटिन सफलताप्रति ढुक्क



मस्को, (एजेन्सी)
रुसी जनताले राष्ट्रपतीय चुनावमा मतदान गरिरहेका छन्। वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पुनः चौंथो कार्यकालका लागि निर्वाचित हुने ठूलो सम्भावना रहेको राजीनीतिक विश्लेषकहरूले बताएका छन्। रुसको सुदूरपूर्वी क्षेत्रमा स्थानीय समयअनुसार शनिबार बिहान आठ बजे मतदान शुरु भएको थियो।

त्यसको ९ घण्टापछि राजधानी मस्कोमा मतदान शुरु गरिएको हो। यस निर्वाचनमा १० करोडभन्दा बढी जनताले मतदान गरिरहेका छन्। आइतबार रातितिर चुनावी नतिजा बाहिर आउन थाल्ने अनुमान गरिएको छ। अर्को ६ वर्ष लामो कार्यकालका लागि उम्मेदवारी दिएका पुटिनले अन्य ७ जना उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका छन्।

पुटिनले मस्कोस्थित एक मतदान केन्द्रमा मतदान गरेका छन्। उनले आफूले चुनावी सफलता हासिल गर्ने विश्वास लिएको बताएको राष्ट्रिय टेलिभिजनले जनाएको छ। पुटिनको प्रतिद्वन्द्वीका रूपमा करोडपति कम्युनिस्ट पाभेल ग्रुदिनिन, टेलिभिजन रियालिटी शोका पूर्वप्रस्तोता सेनिया सोब्चाक र चर्चित राष्ट्रवादी नेता भ्लादिमिर झिर्नोभ्स्की रहेका छन्।

भ्रष्टाचारको अभियोग लगाइएका कारण मुख्य विपक्षी राजनीतिक नेता एलेक्सेइ नाभाल्नी चुनाव लड्नबाट वञ्चित भएका छन्। आफूविरुद्ध राजनीतिक पूर्वाग्रह प्रयोग भएको नाभाल्नीले गनासो गरेका छन्। उनले मतदातालाई चुनाव बहिष्कार गर्न आह्वान गरेका छन्।

साथै उनले सम्भावित चुनाव धाँधलीलाई मध्यनजर राख्दै हजारौं पर्यवेक्षकलाई मतदान केन्द्रमा परिचालित गरेका छन्। ६५ वर्षीय पुटिनले सन् १९९९ यता कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपतिका रूपमा रसियाको सत्तामा सशक्त भूमिका खेल्दै आएका छन्।

स्वतन्त्र निर्वाचन अनुगमन समूह गोलोसले भने १ हजार ७ सयभन्दा बढी अनियमितता भएको जनाइसकेको छ। साथै चुनावलाई लक्षित एउटा साइबर आक्रमण पनि असफल बनाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्