तल्लो साञ्जेन जलविद्युत्को काम रोकियो



नेपाल समाचारपत्र
काठमाडौं
तल्लो साञ्जेन जलविद्युत कम्पनीको पावर हाउस निर्माण काम रोकिएको छ। भारतीय कम्पनी एसीडब्लुले निर्माणको जिम्मा लिए पनि हिमाल हाइड्रोलाई निर्माण कार्यको जिम्मा दिएको थियो। तर, हिमाल हाइड्रोले काम गराएको कम्पनीलाई समयमा भुक्तानी नगर्दा पावर हाउस निर्माणको काम झण्डै तीन महिनादेखि ठप्प छ।

२०७५ साल माघ १ गतेसम्म निर्माणको सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको आयोजनाको अहिलेसम्म झण्डै ६० प्रतिशत मात्र काम भएको छ। ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजनाका प्रमुख गणेश केसीका अनुसार चार भागमा विभाजन गरेर काम भइरहेको छ। तर, महत्वपूर्ण मानिएको पावर हाउन निर्माणको काम नै रोकिएको छ।

आयोजना निर्माण गर्न भारतीय कम्पनी एसीडब्लु र नेपाली कम्पनी तुङ्दी कन्स्ट्रक्सनले संयुक्त रूपमा ठेक्का लिएका हुन्। जसमा एसीडब्लुले ७० प्रतिशत र तुङ्दीको भागमा ३० प्रतिशत काम परेको छ। कामको बाँडफाँड गर्दा पावर हाउस निर्माण एसीडब्लु र टनेलको काम तुङ्दीको भागमा परेको थियो। तुङ्दीले कामलाई निरन्तरता दिए पनि भारतीय कम्पनीले जिम्मा लिएको काम भने रोकिएको छ।

भारतीय कम्पनीले जिम्मा लिएको ठेक्का आफूले २ दशमलव ५ प्रतिशत नाफा खाएर नेपाली कप्पनी हिमाल हाइड्रो कन्स्ट्रक्सलाई दिएको थियो। हिमालले ७ प्रतिशत नाफा खाएर फेरि पावर हाउसको सिभिल वर्कको काम गोमा एचजी कन्स्ट्रक्सनलाई दियो। हिमालले १० करोड ५७ लाख रुपियाँमा एचजीलाई जिम्मा दिएको थियो। तर, पावर हाउस निर्माणमा एसीडब्लुले गत कात्तिकमै रकम भुक्तानी दिए पनि हिमाल हाइड्रोले गोमालाई भुक्तानी दिन नमानेको बताइएको छ।

भारतीय कम्पनी एसीडब्लुले हिमाल हाइड्रोसँग लिखित सम्झौता गरेको छ भने हिमाल हाइड्रोले गोमा एचजी कन्स्ट्रक्सनलाई काम लगाएको छ। गोमा एचजीले ३ करोड ८६ लाख रुपियाँ बराबरको काम सकिएको बिल हिमाल हाइड्रोलाई बुझाएको गोमाका प्रबन्ध निर्देशक श्याम घिसिङले बताउनुभयो। शुरूमा ७ प्रतिशत कमिसन खाएर काम गोमालाई दिए पनि अहिले हिमाल हाइड्रोका प्रबन्ध निर्देशक विनोदकुमार अग्रवाल र इन्जिनियर प्रमेश त्रिपाठीले ३ कारोड ८६ लाखको १० प्रतिशत थप कमिसन मागेको आरोप घिसिङले लगाउनुभयो।

अग्रवालले भने आफूहरूले नमागेको बरु उल्टै पहिलोको ७ प्रतिशतमा थप ३ प्रतिशत थपेर दिन खोजे पनि आफूहरूले नमानेको दाबी गर्नुभयो। हिमाल हाइड्रोले भुक्तानी नदिँदा काम रोकिएको हो। अहिलेसम्म २ करोड ८० लाख मात्र भुक्तानी गरेको गोमाले जनाएको छ। हिमाल हाइड्रोले ३० प्रतिशत काम गरिसकेको कम्पनीलाई अब भुक्तानी दिन नसकिने भन्दै गोमा एचजीलाई काम छाडन दबाब दिइरहेको छ। जसले गर्दा निर्माण कार्य अनिश्चित बनेको छ। साञ्जेन जलविद्युत् आयोजना प्रमुख गणेश केसीले ठेकेदारकै लापरबाहीले काम रोकिएको बताउनभुयो। ‘ठेक्का कोबाट कहाँ पुगेको हो त्यो हामीलाई थाहा छैन। सम्झौता भएको भारतीय कम्पनी एसीडब्लुसँग हो, केसीले भन्नुभयो–‘हामीले उसैलाई दबाब दिने हो, समयमा प्रभावकारी काम भएन भने कारबाही गर्ने हो।’

हिमाल हाइड्रकोका प्रबन्ध निर्देशक विनोदकुमार अग्रवालले भने आफूहरूको गल्ती भए कारबाही गर्न चुनौती दिनुभयो। पावर हाउस निर्माणमा संलग्न कामदारले लामो समयदेखि भुक्तानी नपाउँदा समस्या भएको बताएका छन्। पावर हाउसका सुपरभाइजर कान्छा तामाङले आफूहरूले ६ महिनादेखि तलब नपाएको गुनासो गर्नुभयो।सम्झौता गर्ने तर केही काम भएपछि विभिन्न बाहनामा काम रोक्ने प्रवृतिले आयोजना निर्माण कार्य नै अलपत्र परेको छ।

प्रतिक्रिया दिनुहोस्