कुखुरा पालनको हब बन्दै बांगेसाल



सलिम अन्सारी, प्यूठान

गाउँमा कुखुरापालन फस्टाएपछि जिल्लाको सरुमारानी क्षेत्र कुखुरा व्यवसायको हब बन्दै गएको छ। दशकयता ठूलो लगानीका व्यावसायिक कुखुरा फार्म खुल्न थालेका छन्। कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्टी व्यवसायमा लगानीको ओइरो लागेको हो। यहाँ अहिले करोडौ लगानीका आधा दर्जन पोल्टी फार्म सञ्चालनमा छन्। खुल्ने क्रम अझै जारी नै छ, सरुमारानी १ बाँगेसालका स्थानीय टंक जिसीले १ करोड १० लाखको लगानीमा गौरा पोल्टी फार्म सञ्चालन गरिरहेका छन्।

१० रोपनी जग्गामा फार्म खोलिएको छ, दुई वटा खोरसहित दाना मिल, स्टोर निर्माण गरिएका छ, दुई वटा खोरमा अहिले झण्डै ९ हजार कुखुरा छन्। यहाँ उत्पादन भएका अण्डा प्यूठान र रोल्पाका बजारसहित अर्घाखाँची, गुल्मी बुटवलसम्म पुग्ने गरेको उद्योग सञ्चालक जिसीले बताउनुभयो। यहँँ नै बोइलर कुखुरा पाल्न एकता पोल्टी फार्म खुलेको छ। स्थानीय ४ जना युवा उद्यमीले मिलेर फार्ममा ५० लाख लगानी गरेका हुन्। सुविधा सम्पन्न भौतिक पूर्वाधार रहेको फार्मका लागि ८ रोपनी जग्गा लिजमा लिइएको छ।

एकैसाथ ७ हजार ५ सय चल्ला राखेर कुखुरा उत्पादन गरिरहेको फार्मका सञ्चालक प्रकाश आचार्यले बताउनुभयो। त्यस्तै हालै यहाँ झिमरुक पोल्टी फार्म शुरू गरिएको छ। वैदेशिक रोजगारबाट फर्केका ४ जना युवा मिलेर लाखौंको लगानीमा कुखुरा पालन शुरू गरेका हुन्।

सरुमारानी गाउँपालिकाको १ र २ नम्वर वडामा मात्रै बोइलर र लेयर्सका चार दर्जन फार्म छन्। त्यसमध्ये बोइलर पाल्नेको संख्या बढी छ। यहाँ क्रेट उद्योग पनि खोलिएको छ, पश्चिम क्षेत्रका कुखुरा पालक व्यवसायीलाई लक्षित गरी ९ वर्ष अघि खोलिएको यो उद्योगमा ८ हजार बढी अण्डा राख्ने क्रेट उत्पादन हुन्छ। पोल्टी फार्मले उद्योगबाट क्रेट किनेर लैजाने गरेको उद्योगले बतायो।

१ करोड लागतमा उद्योग खोलिएको हो। ददेरीमा खोलिएको यो उद्योग नजिकै मध्य तथा सुदूरपश्चिमकै पहिलो र ठूलो राप्ती फिड एन्ड हचरी प्रालि छ। यसमा चल्ला उत्पादनका लागि १० हजार प्यारेन्ट जातका कुखुरा पालिएका छन्। २०६७ सालमा ४ जनाको साझेदारीमा उद्योग खोलिएको हो। दैनिक ँ १ हजार ५ सयदेखि ३ हजार ५ सयसम्म अण्डा उत्पादन हुने गरेको छ। यहाँ खुलेका दर्जनौ साना तथा ठूला उद्योगमा सयौंलाई रोजगारीसमेत मिलेको छ।

सरुमारानी गाउँपालिकाले कुखुरापालकलाई व्यवस्थित र व्यावसायिक बनाउन नीति बनाउने तयारी गरेको छ। गाउँपालिका प्रवक्ता बसन्त जिसीले कुखुरापालक कृषकलाई उत्कृत गरी सहकारीमार्फत् व्यावसायीलाई अगाडि बढाउने बताउनुभयो। सरुमारानी गाउँपालिकाले कृषकको बृहत्तर हितका लागि किसानसँग गाउँ सरकार कार्यक्रममार्फत् ५० लाख विनियोजन गरेको उहाँले जानकारी दिनुभयो। यो क्षेत्रमा लेर्यस र बोइलर कुखुरापालनमा ३० करोडको हाराहारीमा लगानी भइसकेको छ। जानकारहरू भन्छन् यहाँ कम्तीमा ४० हजार कुखुरा पालन सक्ने पूर्वाधार तयार भएका छन्।

प्रतिक्रिया दिनुहोस्