नेपाल आठौं स्थानमा



काठमाडौं, (नेस)
जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालले नेदरल्यान्ड्ससँग ४५ रनले हारेर आठौं स्थान ओगटेको छ। शनिबार भएको सातौं स्थानको प्लेअफमा डच टोलीले छोडेको १ सय ९० रनको लक्ष्य लिन नसकेपछि नेपाल ४५ रन अन्तरले पराजित हुनपुग्यो। नेपाली ब्याटिङ खासै जम्न नसकेपछि १ सय ४४ रनमा अलआउट भएको हो। नेपालले योसँगै जिम्बावेमा खेलिएका ६ खेलमध्ये २ मा मात्रै जित हात पारेको छ। यसका बाबजुद एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर नेपालले जिम्बावे यात्रा खेर जान दिएन।

नेदरल्यान्ड्स समूह ‘ए’मा सशक्त टोली भए पनि सुपरसिक्समा पुग्न नसकेको टोली हो। नेपालले पनि अफगानिस्तानसँग नेट रनरेटमा पछाडि परेर सुपर सिक्सको सम्भावना समाप्त गरेको थियो। नेपालले एकदिवसीय मान्यता प्राप्त गरिसकेको र नेदरल्यान्ड्सलाई पनि यो नतिजामा हार जितको मतलब नहुँदा यो खेल महत्त्वहीन बनेको थियो। नेदरल्यान्ड्सले पहिले ब्याटिङ गरेर १ सय ८९ रन बनाएको थियो। नेपाली बलरले खेलमा डच ब्याटसम्यानलाई नियन्त्रणमा राखेका थिए। तर मध्यक्रमका ब्याटसम्यान बास डे लिडले सर्वाधिक ३९ रन बनाइदिदाँ नेदरल्यान्ड्सले सम्मानजनक स्कोर बनायो।

नेपाली बलरमा सोमपाल कामी सबैभन्दा सफल बलर बने। उनले शुरूका तीन विकेट लिएर नेपाललाई राम्रो शुरुआत दिलाएका थिए। उनले पछि एक विकेट थपेर १० ओभरमा २४ रन खर्चेर ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने र ललित राजवंशीले २⁄२ विकेट लिँदा शक्ति गौचनले अन्तिममा एक विकेट हासिल गरेका थिए। शक्तिले यसअघिका खेलमा खेल्न पाएका थिएनन्।

नेपाली ब्याटिङ दयनीय बनेको थियो। नेपालका लागि बलिङमा जमेका सोमपालले नै सर्वाधिक योगदान दिए। उनले ३६ रन बनाएर आउट भएका थिए। उनीपछि दीपेन्द्र सिंह ऐरीले २५ रन र कप्तान पारस खड्काले २२ रन बनाएका थिए। त्यस्तै सन्दीपले १४ रन र करण केसीले १३ रन जोड्दा अन्य ब्याटसम्यानका लागि दोहोरो अंक पनि भाग्य भएन। ज्ञानेन्द्र मल्ल सधैंझैं छिट्टै ४ रन बनाएर आउट भए भने अर्का ओपनर अनिल शाहले ८ रन मात्रै जोडे। त्यस्तै मध्यक्रमका आरिफ शेख ५ रनमा पवेलियन फर्कंदा रोहित पौडेल र शक्ति गौचन शून्यमै आउट भएका थिए।

प्रतिक्रिया दिनुहोस्