देशभक्तको ‘अमृतप्रेम’ लोकार्पण



पोखरा। बहुआयामिक प्रतिभाका धनी देशभक्तसिंह कुँवरको एकघन्टामै लेखिएको हाइकुसंग्रह ‘अमृतप्रेम’ लोकार्पण भएको छ। साढे तीन महिनामै लगातार ३ कृति सार्वजनिक गरेका कुँवर यसपालि भने फरक परिचयसहित साहित्यिक फाँटमा देखा परेका हुन्। गायक, संगीतकार तथा साहित्यकार कुँवरको सो हाइकुसंग्रह बिहीबार पोखरामा आयोजित एक समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले लोकार्पण गरेका हुन्।

मेयर जिसीले कुँवरको प्रतिभाको कदर गर्दै उनको साहित्यिक लेखनीमा हातहरू नथाकून् भनी शुभकामना दिए। प्रा.डा. यामबहादुर पौडेल क्षेत्रीले स्रष्टा कुँवरलाई विविध क्षेत्रबाट अब केन्द्रीकृत हुन सुझाव दिए। सम्पदा कला मन्दिर नेपालको आयोजनामा भएको उक्त समारोहमा संस्थाका संरक्षक साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवरले साहित्यिक लेखन अन्य विधाभन्दा जटिल रहेको उल्लेख गरे। स्रष्टाका पिता उनले देशभक्तमा सानैदेखि साहित्य र कलाक्षेत्रमा अभिरुचि रहेको जानकारी दिए।

स्रष्टा कुँवरको गत मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेसन’ र डेढ घन्टामै लेखिएको मुक्तकसंग्रह सेतो संसार गत माघ २७ मा विमोचन भएको थियो। पोखरा वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको ‘अमृतप्रेम’ मा १ सय ४४ वटा हाइकू छन्। स्रष्टा कुँवरले गत पुस १२ मा साँझ ६ देखि ७ बजेसम्म एकै बसाइमा लेखिएका हाइकुलाई पुस्तकको रूप दिएको बताए।

एल्बमसहित कृतिका हिसाबले कुँवरका २८ कृति बजारमा छन्। मेघा एफएमका प्रबन्ध निर्देशक देशभक्तसिंह कुँवर सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष छन्।

समारोहमा पोखरा लेखनाथ महानगरपालिका–४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला, ९ का रामराज लामिछाने र ११ का मोहनप्रसाद बास्तोलासहित साहित्यिक व्यक्तित्व एवं विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्