कवितामा गाउँले परिवेश



रूपा भण्डारी
पूर्वी पहाडी जिल्ला इलामको तत्कालीन श्रीअन्तु–२ हालको सूर्योदय नगरपालिकाका कवि एकु घिमिरे ‘एउटा बाटो गाँउसम्म’ नामको कविता संग्रह लिएर उदाएका छन्। यस संग्रहमा कविले गाउँले परिवेश, नेपालको राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक विभिन्न पक्षका अनुभूतिहरूलाई समेटेका छन्। कविताको रूपमा उनको शक्ति पूर्वको ग्रामीण जीवनको फोटोग्राफी वा पेन्टिङका रूपमा रहेको छ भन्दा अत्युक्ति नहोला। यो कृति कवि एकु घिमिरेको पहिलो प्रकाशित कृति हो।

यो कविता संग्रह ५९ पृष्ठ संख्याको मात्रै भए पनि खुराक खँदिलो छ। कविता पढ्दा सामान्य भाषामा भए पनि गहिरो अर्थ दिने कविताहरू भएकाले यसबाट नौलो रसास्वादन गर्न सकिन्छ। धेरैजसो कविताहरूको मर्म शीर्षकबाट नै पनि बुझ्न सकिने देखिन्छ। कविता पढेपछि त झनै छर्लङ्ग हुन्छ।

कविको यो पहिलो कृति भए पनि यसले कविता विधामा रुचि राख्ने जो–कोहीलाई पढ्न प्रेरित गर्नेछ। यो कृति ज्ञानवद्र्धक छ। यसमा सबै प्रकारका पाठकले पढ्नयोग्य विषयवस्तु रहेको छ। लेखनमा लोप हुन लागेका शब्दलाई टिपोट गरी कविले कवितामार्फत उजागर गेका छन्। नेपालको गाउँले परिवेशलाई उतारेका छन्। नेपाली प्रकृतिलाई मात्र होइन, नेपाली दुर्गम समाजलाई पनि यसमा चित्रण गरिएको छ। स्कलर्स पब्लिकेसन, काठमाडौंद्वारा प्रकाशित यस संग्रहको मूल्य १२५– रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्