रत्नजीतले सिंगल्स उपाधि जिते



एपीएफ महिला भलिबल टोलीको उपाधि राष्ट्रिय भलिबल प्रतियोगिता, तीज कप, राखेप च्याम्पियनसिप, ढोरपाटन डबल महिला लिग, मेयर कप, प्रधानमन्त्री कप, एनभीए क्लब च्याम्पियनसिप , दिदीबहिनी कप र आईजीपी कप।

नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन आर्मी क्लबका रत्नजीत तामाङले १४ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सको उपाधि जितेका छन्।
शुक्रबार हल्चोकस्थित शसस्त्रको ब्याडमिन्टन कोर्टमा रत्नजीतले नेपाल एपीएफ क्लबका दिपेश धामीलाई सहजै पराजित गरी उपाधि हात पारेका हुन्।

पहिलो सेटमा अलि प्रतिस्पर्धा भएपनि दोस्रो सेटमा एकोहोरो अग्रता लिएपछि रत्नजीतको उपाधि पक्का भयो। उनले सो फाइनल खेल २२–२०, २१–११ को सोझो सेटले जितेका थिए। उनले ६० हजार रुपियाँ प्राप्त गर्दा उपविजेता दिपेशले ३० हजार नगद हासिल गरे। यस्तै महिला सिंगल्समा पहिलो भएकी नङसलदेवी तामाङले ५० हजार र दोस्रो हुने रसिला महर्जनले २५ हजार नगद प्राप्त गरे।

प्रणव र मायंकालाइ उपाधि

१० औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबका प्रणव खनाल र नेपाल पुलिस क्लबकी मायंका राणाले उपाधि हासिल गरेका छन्। हल्चोकको लनटेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा प्रणवले ललितपुरका जितेन्द्र परियारलाई ७–५, ३–६, ६–० ले हराएर उपाधि पक्का गरेका हुन्। त्यस्तै महिला सिंगल्स फाइनलमा मायंकाले सोही क्लबकी आफनै बहिनी माहिका राणालाई ६–४, ३–६, ६–३ ले हराइन्। दुबै विधाका विजेताले समान ६० हजार रुपियाँ हासिल गर्दा उपविजेताले पनि समान ३० हजार नगद हात पारेका थिए।

एपीएफको नवौं उपाधि
सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) पाँचौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि भने आयोजकको नेपाल एपीएफ क्लबले जितेको छ। हल्चोकस्थित शसस्त्रको भलिबल कोर्टमा सम्पन्न फाइनल खेलमा एपीएफले शिवम् न्यु डायमण्ड एकेडेमी काठमाडौंलाई २५–१९, २५–१८, २५–१९ को सीधा सेटमा हराएर उपाधि जितेको हो। यो विभागिय टोलीको यस वर्ष नवौं उपाधि हो भने न्यु डायमन्डमाथि फाइनलमा आठौं जित पनि हो। प्रतियोगितामा तेस्रो स्थान नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१२, २५–१३, २५–१३ ले हराएर हासिल गर्यो।
प्रतियोगिताअन्तर्गत भलिबलमा पहिलो हुने टोली शसस्त्रले २ लाख ५० हजार प्राप्त गर्दा न्यु डायमण्डले १ लाख २५ हजार नगद हासिल गरेको थियो। तेस्रो स्थानमा रहेको पुलिसले ५० हजार रुपियाँमा चित्त बुझाएको थियो। सो प्रतियोगितामा एपीएफकी नेविका चौधरी उत्कष्ट स्पाइकर, न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, एपीएफकै मनिषा तामाङ उत्कृष्ट डिफेन्स, एपीएफकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, न्यू डायमण्डकी कृपा अधिकारी उत्कृष्ट सेटर र एपीएफका ज्ञानेन्द्र बहादुर विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन्। उनीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्