१५ लाख पर्यटक भित्र्याउने नवनियुक्तमन्त्रीको लक्ष्य



काठमाडौं, (नेस)
नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शुक्रबार अबेर पदभार ग्रहण गर्दै सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने गरी नेपाल भ्रमण वर्ष मनाउने निर्णयमा हस्ताक्षर गर्नुभएको छ।

पदभार गरेलगत्तै मन्त्री अधिकारीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी एक महिनाभित्र टुंग्याएर कार्यान्वयनमा जाने निर्णयमा पनि हस्ताक्षर गर्नुभएको छ। मन्त्रीको कार्यभार सम्हालेपछि उहाँले भारत र चीनबाट ठूलो संख्यामा पर्यटनहरू विदेश भ्रमणमा जाने भएकाले ती देशमा नेपाल सरकारले बृहत्रूपमा पर्यटन प्रवद्र्धन कार्यक्रम गर्ने प्रतिबद्धता जनाउँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने बताउनुभएको छ। त्रिभुवन विमानस्थलमा बढ्दो हवाई चापलाई न्यूनीकरण गर्नका निम्ति पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा विकास गर्ने मन्त्री अधिकारी निर्णय गर्नुभएको छ।

त्यस्तै ईयुको कालोसूचीबाट सन् २०१८ भित्रै नेपाललाई हटाउनका निम्ति पहल गर्ने पनि मन्त्री अधिकारीले निर्णय गर्नुभएको छ।

पदभार सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले आजकै दिनबाट सबैको परीक्षा शुरू भएको छ। सबैले सामूहिक रूपमा परीक्षा उत्तिर्ण गर्नका निम्ति उच्च मनोबालका साथ काम गर्नुपर्ने बताउनुभयो। उहाँले रेमिट्यान्सलाई प्रतिस्थापन गर्नका निम्ति पर्यटन वैकल्पिक हुन सक्ने भन्दै कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउनुपर्ने जोड दिनुभयो।

यसैगरी श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले देशभित्रै रोजगार सिर्जना गर्ने तथा विदेशमा रहेका नेपाली कामदारको हिका निम्ति सरकारले उपयुक्त निर्णय गर्ने बताउनुभएको छ। उहाँले पछि उपयुक्त समयमा उपयुक्त निर्णय गर्ने भन्दै शुक्रबार कुनै निर्णय गर्नुभएन।

प्रतिक्रिया दिनुहोस्