उत्तर कोरियाली विदेशमन्त्री स्विडेनमा



स्टकहोम, (एजेन्सी)
उत्तर कोरियाका विदेशमन्त्री रि योङ होले शुक्रबार स्टकहोममा स्विडेनका प्रधानमन्त्री स्टेफन लोफभेनसँग भेटवार्ता गरेका छन्। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्भावित भ्रमणको सम्मुख रि अचानक स्विडेन पुगेका हुन्।

प्योङयाङले भने रिको यस भ्रमण द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरूमा केन्द्रित रहेको बताएको छ। स्विडेनले लामो समयदेखि वासिङ्टन र प्योङ्याङबीच मध्यस्थता गर्दै आएको छ। रिले बिहीबार राति र शुक्रबार बिहान आफ्ना स्विडेनी समकक्षी मार्गोट बालस्टोर्मसँग भेटवार्ता गरिसकेका छन्। यता स्विडेनको विदेश मन्त्रालयले भने दुई कोरियाबीचको तनाव र उत्तर कोरियामा संयुक्त राज्य अमेरिकाका तर्फबाट भएको स्विडेनको कूटनीतिक कार्यमाथि तिनीहरूको छलफल केन्द्रित रहने जनाएको छ।
दुईदिने औपचारिक भ्रमणमा गएका रिको भ्रमण समय लम्ब्याएर आइतबारसम्म पुर्याइएको स्विडेनको न्युज साइटे एसभीटी निहिटरले जनाएको छ। वार्ताको एजेन्डामा अमेरिकासँगको उत्तर कोरियाको विश्वासिलो वातावरण तयार पार्ने र उत्तरमा थुनिएका अमेरिकीहरूलाई मुक्त गर्नेजस्ता थुप्रै विषय रहेको बताइएको छ।

गत साता डोनाल्ड ट्रम्पले किमसँगको प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गरेका थिए। यसअघि लामो समयसम्म अमेरिका र उत्तर कोरियाबीच वाक् युद्ध चलेको थियो। दक्षिण कोरियाली अधिकारीहरूले सो वार्ता प्रस्ताव वासिङ्टनमा लिएर गएका थिए। तर उत्तरले अहिलेसम्म यस वार्ता सम्बन्धमा कुनै पनि औपचारिक प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्