सिरियाली गृहयुद्ध ७ वर्ष पूरा, अहिलेसम्म साढे तीन लाखको मृत्यु



लन्डन, (एजेन्सी),
प्रमुख प्राचीन सभ्यता बोकेका केही सीमित देशमध्यको एक सिरिया अहिले धराशयी अवस्थामा छ। सिरियाको रक्तपात तथा नरसंहारकारी गृहयुद्ध सात वर्ष पूरा भएको छ। यद्यपि यो युद्ध रोकिने र यहाँ शान्ति पुनर्बहालीको कुनै संकेत देखिएको छैन।

सिरियाका राष्ट्रपतिविरुद्ध सात वर्षअगाडि शुरू भएको एक शान्तिपूर्ण विद्रोह अहिले एक अनिर्णित गृहयुद्धको रूपमा छ। यो संघर्षमा अहिलेसम्म ३ लाख ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। कयौं पुरातात्विक तथा आधुनिक शहर भग्नावशेषमा परिणत भइसकेका छन् भने नागरिकहरू अन्य देशमा भाग्न बाध्य भएका छन्।

यो सबै वर्तमान राष्ट्रपति बसर अल असदको कार्यकालमा शुरू भएको हो। उनले सन् २००० मा आफ्ना पिता हाफिज अल असदको मृत्युपछि सत्ता सम्हालेका थिए।

त्यसको १२ वर्षपछि सन् २०११ मार्चमा दक्षिणी शहर डेराबाट असदविरुद्ध लोकतन्त्रको माग उठ्न थाल्यो। यो आन्दोलन छिमेकी अरब देशहरूमा शृंखलाबद्ध रूपमा फैलिएका क्रान्तिबाट प्रेरित थियो।

सरकारले ती विरोधीलाई दमन गर्न घातक बलको प्रयोग गर्यो। त्यसले झन् पूरै देशमा राष्ट्रपतिको राजीनामा मागसहित आन्दोलन चर्कायो। देशमा अशान्ति फैलियो र सरकारका तर्फबाट पनि दमनलाई तीव्र बनाइयो। विपक्षी समर्थकहरूले सरकारी दमनको प्रतिकार स्वरूप आफूलाई सही ठहर्याउन आफ्ना इलाकालाई सैनिक बलबाट मुक्त गराउन हतियार उठाए।

राष्ट्रपति असदले विरोधीलाई दमन गर्ने प्रतिज्ञा गर्दै उनीहरूलाई विदेश समर्थित आतंकवादको संज्ञा दिए।
हिंसा तीव्र रूपमा फैलिएपछि पूरै देश गृहयुद्धको चपेटामा आयो।

बेलायतस्थित द सिरियन अब्जरभेटरी फर र्युमन राइट्सले यस वर्षको मार्चसम्ममा ३ लाख ५३ हजार ९ सय जनाको मृत्यु भइसकेको पुष्टि गरेको छ। त्यसैगरी १ लाख ६ हजार जना घाइते भएका छन्। यो संस्थाले सिरियामा रहेका आफ्ना सूत्रको सन्जालबाट त्यहाँको स्थितिमाथि निगरानी गर्दै आइरहेको छ।

यस आँकडामा बेपत्ता अवस्थामा रहेका ५६ हजार ९ सय जनालाई संलग्न गरेको छैन। तर बेपत्ता भएका अधिकांशको मृत्यु भइसकेको मानिएको छ।

समूहले करिब १ लाख मृत्यु हुनेको दस्तावेजमा दर्ता भइसकेको जनाएको छ।

त्यसैगरी नागरिकमाथि हुने हमलाको जानकारी संकलन गर्दै आइरहेका द भ्वाइलेसन डक्युमेन्टेसन सेन्टर सिरियाका अनुसार सन् २०१८ फेब्रुअरीसम्ममा १ लाख ८५ हजार नागरिक हिंसामा मृत्यु भएको र तीमध्ये १ लाख १९ हजार २ सय सर्वसाधारण नागरिक छन्।

युद्धको बदलिएको स्वरूप

सिरियाली द्वन्द्व लोकतन्त्र स्थापित गर्ने विशुद्ध आन्तरिक मुद्दासँग जोडिएको भए पनि यसले पछि अन्तर्राष्ट्रिय चासोको केन्द्रको रूप लियो। अब यो द्वन्द्व राष्ट्रपति असदका समर्थक र विरोधीबीचको मामिलामात्र सीमित रहेको छैन।

धेरैजसो समूह तथा देश आफना एजेन्डा लिएर यसमा संलग्न रहेका छन्। यसले त्यहाँको स्थितिलाई झन् जटिल बनाएको छ भने अन्त्य हुने कुनै संकेत देखाएको छैन।

सिरिया द्वन्द्वमा परोक्ष वा अप्रत्यक्ष संलग्न रहेकाहरूले त्यहाँका विभिन्न धार्मिक समूह तथा जातीय समूहबीच विभाजन ल्याइरहेका छन्। उनीहरू बहुसंख्यक सुन्नी मुस्लिम र राष्ट्रपति असदका समर्थक अल्पसंख्यक सिया मुसलमानबीच खाल्डो खनिरहेका छन्।

उनीहरूले नै जिहादी संगठन इस्लामिक स्टेट र अलकायदालाई पनि फल्नफुल्न मद्दत गरेका हुन्। त्यसैगरी सिरियाका कुर्द लडाकूले यस संघर्षमा एक अर्को आयाम जोडे। उनीहरू स्वशासित सरकार चाहेका छन् तर असदका सैनिकसँग शत्रुता लिएका छैनन्।

सांस्कृतिक सम्पदा ध्वस्त

सिरियाको धेरैजसो सांस्कृतिक सम्पदा ध्वस्त भइसकेका छन्। देशको ६ वटा युनेस्को वल्र्ड हेरिटेज साइट्स पुरै तोडफोडले ध्वस्त भएका छन्।

अहिलेसम्म संयुक्त राष्ट्र संघको संलग्नतामा भएका वार्ताले ९ चरण पूरा गरेको छ। तर यसको कुनै ठोस नतिजा आएको छैन। असदले लगातार विपक्षसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गर्दै आइरहेका छन्।

अन्तर्राष्ट्रिय शक्तिको हस्तक्षेप

अन्तर्राष्ट्रिय शक्ति राष्ट्र तथा क्षेत्रीय शक्ति राष्ट्रहरूको हस्तक्षेपले यसलाई अझ जटिल मोडमा पुर्याएको छ। सिरियाली सरकारका प्रमुख समर्थकका रूपमा रुस र इरानअगाडि आएका छन्। त्यसैगरी विद्रोहीलाई साथ दिन अमेरिका, टर्की र साउदी अरेबियाले हस्तक्षेपकारी भूमिका निर्वाह गरिरहेका छन्। सिरिया सरकारलाई इराकको पनि सहयोग रहेको छ।

सिरियामा रुसले आफ्नो सैन्य अड्डा स्थापित गरिसकेको छ। रुसले उसको हवाई हमलामा ‘आतंकवादी’लाई मात्र निसाना बनाइरहेको दाबी गरेको छ।

यस युद्धमा कम्तीमा ६१ लाख सिरियाली देशभित्रै विस्थापित भइसकेका छन्। तीबाहेक करिब ५६ लाख नागरिक देशबाहिर सरण लिइसकेका छन्। तीमध्ये ९२ प्रतिशत सिरियालीले छिमेकी लेबनान, टर्की र जोर्डनमा आश्रय लिएका छन्।

प्रतिक्रिया दिनुहोस्