मनमोहक एक्सप्रेस



कमल ढकाल
बैकुन्ठ एक्सप्रेस। यो बैकुन्ठ लैजाने ल्याउने गाडी वा रेलको नाम हैन। यो नाटक हो। यसले भन्छ– ‘सुख सुविधा आफ्नै भूमिमा हुन्छ। अन्य देशमा हुँदैन। अमेरिका बैकुन्ठजस्तै भूमि भनेर गए पनि वास्तविक सुख त्यहाँ हुँदैन। स्वदेशमै सुख हुन्छ।

देशप्रेमका कारण पनि होला यो कृतिले विसं २०४२ सालमा मदन पुरस्कार पायो।

जिन्दगीभर पढ्ने र पढाउने, लेख्ने र लेखाउने काम गरेका मोहनराज शर्मासँग गतहप्ता भेट भयो। साहित्य केन्द्रित कुराकानीमा उनको जिन्दगी र प्राध्यापनका बारेमा पनि कुरा भए।

काभ्रेस्थली काठमाडांैमा ७८ वर्षअघि जन्मेका मोहन पढ्न काशी पुगे। यति कुरा जान्न त तैंले काशी गएर मुख धोएर आउनपर्छ भन्ने त्यो जमानामा उनले वनारसमा पढ्न पाउनु आफैंमा भाग्यको खेल थियो। बाबुसँगै काशी गएका उनी त्यहीं हुर्के, बढे र पढे। स्कुलदेखि एमएसम्मको त्यो पढाइले उनलाई अर्कै बनायो।

खुट्टा लर्बराउन खोज्दा उनी भने भित्री बलियो बनेका छन्। विवेक झन् धारिलो बन्दैछ। ज्ञानको पर्दा खोल्नेबित्तिकै उनी मनमोहक लाग्छन्। बैकुन्ठ एक्सप्रेस लेखिसकेका उनी आफ्नै जिन्दगीको एक्सप्रेसमा छन्। पचाउन सक्ने क्षमता, भनेको मान्ने स्त्री, जिउमा रोग नलाग्दा आफूलाई भाग्यमानी मानिन्छ भन्छन्। मोहनको जिन्दगी हेरेर अरूले उनलाई भन्न सक्छन– ‘भाग्यमानी मोहन साँच्चै मनमोहक छन्।’

विसं २०२५ देखि २०३२ सम्म उनी बनारसको पढाइ सकेर पूर्व मेची पुगे। मेची क्याम्पसबाट उनले पढाउन शुरू गरे। तातो मेचीको हावा छाडेर कुल कीर्तिपुर आएको पनि चार दशक बढी भइसक्यो। आजकल उनलाई कीर्तिपुर टयांग्लाफाटको घाम प्यारो लाग्छ। किनकि त्यहाँ उनको घर छ।

रिडर हुँदै प्राध्यापकसम्म बन्दा उनको घाँटीको नदेखिने स्वर मात्र हैन गर्धनको देखिने छाला पनि तन्कियो।

चाणक्यले भनेका छन्– ‘नारीको सौन्दर्य अमूल्य चिज हो भने पुरुषको विवेक।’ पुरुषको सौन्दर्यमा चमक लगाउन उनी संसारमा आए। यही काम नै उनको जिन्दगी बन्यो।

उनका जमन्त, यमा र बैकुन्ठ एक्सप्रेस गरी तीन वटा नाटक संग्रह प्रकाशित छन्। उताको बाघ एकांकी संग्रह छ। चार वटा कथा संग्रह र तीन वटा उपन्यास पनि प्रकाशित छन्।। तीन वटा निबन्ध संग्रह छन्। चार वटा समालोचना पनि। डेढ दर्जन कोर्स बुकका किताब प्रकाशित छन्। उमेरसँगै किताबका संख्या पनि बढाएका छन् मोहनले।

आठ दशक हुनै लाग्दा पनि नेपाली साहित्यको इतिहास श्रीवृद्धिमा काम गरिरहेका छन्। दुई खुट्टे उनी तीन खुट्टामा हिँड्दै छन्। कृति लेखनका अलावा नेपालमै सर्वप्रथम सृजनशील लेखनको शुरुआत सरकारीस्तरमा गरे। उनी र वासुदेव त्रिपाठी मिलेर २०४३ सालमा गरेको यो कार्य इतिहास बनिसक्यो।

घोस्ट राइटिङ नेपालअन्तर्गत नेपालमै पहिलो पटक निजी क्षेत्रमा शुरू गरेको सृजनशील लेखन तालिममा उनलाई भेटिन्छ। यी दिनमा पनि उनी ती दिन सम्झँदै थिए। आफू सरकारी र निजी क्षेत्रमा शुरू भएको सृजनशील तालिममा पहिलो ब्याचदेखि दशौं ब्याचसम्म सहभागी हुने इतिहास बनेको देखेर आफैंलाई भाग्यशाली मान्थे।

लेखन पार्ट टाइम र प्रोफेसर फुल टाइम हुँदा पनि उनले लेखिरहे। पत्नीका कचकच सहेर दिनभरि पढाउने रातभर लेख्ने नगरेको भए उनका यत्रा विधि कृति निस्किदैनथे। कुनै कथा लेख्न आफूलाई १५ वर्षसम्म लागेको र पल्ली उपन्यास आफूले एक महिनामै लेखेको उनले बताए श्रीमती उमा, छोरा पराक्रम र आक्रम अनि छोरी अर्पणा उनको साहित्य र प्रोफेसरबाहेकका जिन्दगी हुन्। प्रोफेसरबाहेकको जिन्दगी सुखी बनाउन उनले परिश्रम निकै गरे। दोस्रो पुस्ता र तेस्रो पुस्ता आफ्नो ठाउँमा पखेटा लागेर उड्ने भएका छन्। श्रीमती उमासँगै उनी उनको गुँडमा खुसी छन्।

कामले नाम र सम्मान दुवै ल्याउँछ। मदन पुरस्कारका अलावा राष्ट्रिय प्रतिभा पुरस्कार, मैनाली कथा पुरस्कार, वासुदेव हाँस्यव्यंग्य र लघुकथा पुरस्कार उनका जीवनका हौसलाहरू हुन्। जुन पुरस्कार सम्झँदा उनको मन अहिले पनि रमाउँछ। र दिमागमा चुनौती पनि थप्छ।
यो उमेरमा पनि मोहन मनमोहक छन्। साहित्यका कार्यक्रम हुँदा देशैभर पुग्छन्। पढ्ने पढाउने र लेख्ने लेखाउने काममा लागिरहेका छन्। खुट्टा लर्बराउन खोज्दा उनी भने भित्री बलियो बनेका छन्। विवेक झन् धारिलो बन्दैछ। ज्ञानको पर्दा खोल्नेबित्तिकै उनी मनमोहक लाग्छन्। बैकुन्ठ एक्सप्रेस लेखिसकेका उनी आफ्नै जिन्दगीको एक्सप्रेसमा छन्।

पचाउन सक्ने क्षमता, भनेको मान्ने स्त्री, जिउमा रोग नलाग्दा आफूलाई भाग्यमानी मानिन्छ भन्छन्। मोहनको जिन्दगी हेरेर अरूले उनलाई भन्न सक्छन्– ‘भाग्यमानी मोहन साँच्चै मनमोहक छन्। उनको मनमोहक एक्सप्रेसको गाडी अगाडि बढिरहेको छ।’

 

प्रतिक्रिया दिनुहोस्