ब्वायफ्रेन्ड मार्नेलाई छ महिना कारावास !



न्युयोर्क, (एजेन्सी)
युट्युबमा भाइरल हुने आशाले स्टन्ट गर्ने क्रममा गोली हानेर आफ्नै ब्याइफ्रेन्डको हत्या गरेको अभियोगमा एक अमेरिकी महिलालाई छ महिना लामो कारावास सजाय तोकिएको छ।

२२ वर्षीय पेड्रो रुइजले ती २० वर्षीया मोनालिसा पेरेजलाई आफ्नो छातीमाथि राखिएको बाक्लो पुस्तकले ज्यान जोगाउने विश्वासमा ३० सेन्टिमिटर परबाट गोली हान्न अनुरोध गरेका थिए। गत जुन महिनामा भएको सो घटनामा डेढ इन्च बाक्लो पुस्कत छेड्दै गोलीले रुइजको ज्यान लिएको थियो।

पेरेजलाई पछि दोस्रो डिग्रीको हत्याका लागि दोषी ठहर गरिएको थियो। मिन्नेसोटाका न्यायाधीश जेफरी रिमिकले दुई सन्तानकी आमा पेरेजको याचिका पत्रलाई मध्यनजर राख्दै बुधबार निर्णय सुनाएका थिए। उनले १० दिन कारगारमा र १० दिन बाहिर गरी सजाय काट्न सक्ने भएको छ।

अर्थात् उनले ९० दिन कारगारमा बिताउनेछिन् भने ९० दिन उनलाई नजरबन्दी बनाइने छ। उनी हाल बस्दै गरेको साउथ डाकोटामा नै उनले सजाय भोग्ने छिन्। साथै पेरेजले आगामी १० वर्ष अनुगमनसहितको परीक्षणकालमा बस्नुपर्ने भएको छ। उनले आजीवन बन्दुक बोक्न नपाउने भएको छ। यसैगरी उनले यस मुद्दाबापत कुनै पनि आर्थिक लाभ लिन पाउनेछैनन्। वास्तवमा यस घटनामा पेरेजलाई कम सजाय हुनुको कारण उनको ब्वाइफ्रेन्डले नै यस मूर्खतापुर्ण स्टन्टको परिकल्पना गरी उनलाई गोली हान्न लगाउनु रहेको छ।

मिन्नेसोटाको हाल्स्टाडमा बस्ने पेरेज र रुइजले आफूहरूले तयार पारेको प्रान्क भिडियोहरू युट्युबमा पोस्ट गर्दै आएका थिए। सो घटनापछि पेरेजले आफूले गल्तीवश ब्वाइफ्रेन्डलाई गोली चलाउन पुगेको सूचना प्रहरीलाई दिएकी थिइन्। उक्त दुर्घटनाका बेला पेरेजको गर्भमा दोस्रो सन्तान रहेको थियो।

प्रतिक्रिया दिनुहोस्