मस्जिदमा लाउडस्पिकर प्रतिबन्धित



किगाली, (एजेन्सी)
रवान्डाले राजधानी किगालीका मस्जिदहरूमा भक्तजनलाई प्रार्थनाका लागि बोलाउन प्रयोग भइरहेको लाउडस्पिकरहरू अबदेखि बन्द गर्ने भएको छ। स्थानीय प्रशासनले दिनको पाँचपटक यसरी लाउडस्पिकरबाट आह्वान गरिरहँदा राजधानीको सबैभन्दा बढी मस्जिद भएको न्यारुजेन्जे जिल्लाका बासिन्दालाई बाधा पुग्ने गरेको जनाएको छ।

तर एउटा मुस्लिम संगठनका एक जना अधिकारीले सरकारी कदमको भत्र्सना गर्दै यसको बदलामा लाउडस्पिकरको आवाज सानो पार्न सकिने सुझाव दिएका छन्। गत महिना मात्र भवन र आवाज प्रदूषणको नियमहरू उल्लंघन गरेको आरोपमा रवान्डामा स्थानीय प्रशासनले करिब ७ सयवटा चर्च बन्द गरेको थियो। बहुमत रवान्डाली इसाई रहेका छन्। कुल जनसंख्याको करिब ५ प्रतिशत मात्र मुस्लिम रहेका छन्। सरकारले भने मुस्लिम समुदायले उक्त प्रतिबन्ध पालना गर्ने भएको जनाएको छ।

पूर्वी अफ्रिकी राष्ट्र रवान्डामा मापदण्ड नपुगेका सानातिना चर्चहरू बन्द गर्ने क्रममा एउटा मस्जिद पनि बन्द गरिएको छ। तर केही मुस्लिम धार्मिक नेताहरूले सरकारले आफ्नो सन्देश प्रवाहमाथि नियन्त्रण थोपर्न खोजेको आरोप लागएका छन्। यसैगरी केही मानव अधिकारवादी समूहले पनि स्वतन्त्र अभिव्यक्ति अधिकार खोसिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्