निजी क्षेत्रसँग सहकार्य गर्न प्रदेश सरकार तयार



नेपाल समाचारपत्र
काठमाडौं
मुलुकभरका सात वटै प्रदेशका मुख्यमन्त्रीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले ‘संघीय संरचनामा आर्थिक समृद्धिका अवसर’ नाराका साथ नवनिर्वाचित मुख्यमन्त्रीहरूको सम्मानमा बुधबार गरेको अभिनन्दन कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले निजी क्षेत्रसँगको सहकार्यबिना मुलुकको आर्थिक विकास सम्भव नहुने बताएका हुन्।

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै मुलुकले समृद्धिको यात्रा तय गरेको बताउनुभयो। उहाँले निजी क्षेत्र मुलुकको विकासका लागि दह्रो खम्बा भएको भन्दै ‘मुलुकको अर्थतन्त्रको एक दह्रो पिल्लर भनेको नै निजी क्षेत्र हो, निजी क्षेत्रलाई स्वागत गर्न हामी तयार छौं, सकेसम्म प्रदेश–१ मा चँँडो आउनुस्,’ भन्नुभयो।

त्यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्दीले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको लगानी अपरिहार्य रहेको प्रष्ट्याउनुभयो।

उहाँले निजी क्षेत्रको सहकार्यबिना मुलुकको विकास हुन नसक्ने बताउँदै निजी क्षेत्रसँग हातेमालो गर्न दुई नम्बर प्रदेश तयार रहेको बताउनुभयो। यसैगरी प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले निजी क्षेत्रलाई कसैले पनि बाहिर राखेर मुलुक समृद्धिको सपना देख्न नसक्ने बताउनुभयो। उहाँले अब कुरा गर्ने होइन, काम गर्ने समय आएको बताउनुभयो।

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निजी क्षेत्रका लागि लगानीको वातावरण बनाउन सुरक्षाको चुनौती रहेको धारणा राख्नुभयो। निजी क्षेत्रलाई पर्याप्त लगानी गर्ने वातारण बनाउनका लागि संघीय सरकारले आवश्यक कानुन तत्काल बनाउनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ थियो।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विकास र समृद्धिको आकांक्षा बोकेर एकात्मक राज्य व्यवस्थाको ठाउँमा संघीय राज्यको व्यवस्था भएकाले अबको एजेन्डा आर्थिक समृद्धिमात्रै भएकोमा जोड दिनुभयो। मुख्यमन्त्री शंकर पोख्रेलले निजी क्षेत्रहरू हालसम्म राजधानी केन्द्रित भएको भन्दै निजी क्षेत्रलाई चाँडोभन्दा चाँडो स्थानीयस्तरसम्म पुग्न आग्रह गरे। काठमाडौं केन्द्रित भएर समग्र मुलुकको विकास हुन नसक्ने भन्दै चेम्बरलगायत अन्य निजी क्षेत्रसँग सम्बन्धित संघसंगठनहरू चाँडोभन्दा चाँडो प्रदेश–प्रदेशमा पुग्नुपर्ने बताउनुभयो।

प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा पछि परेको कर्णाली प्रदेशको विकास आफ्नो मुख्य एजेन्डा रहेको बताउँदै पिछडिएको प्रदेश भएकाले अवसरै अवसर देखेर लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो। त्यस्तै प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न आफूहरू सबैजना तत्पर रहेको बताउनुभयो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले जहाँं अधिकतम् सुविधा छ, त्यही निजी क्षेत्रले लगानी गर्ने र लगानीले नै स्थानीय रोजगारी सिर्जना गरी राजस्व पनि बुझाउने भएकाले यसतर्फ मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। प्रदेशअनुसार नेपालमा पर्यटन, हाइड्रो, कृषि, जडिबुटी, खानी, उत्पादनशील उद्योगको सम्भावना बढी रहेको चर्चा गर्दै सबै प्रदेशमा पर्यटनको सम्भावना भएकाले यसतर्फ पनि ध्यान जानुपर्नेमा जोड दिनुभयो।

मुलुक संघीय व्यवस्थामा गएसँगै नेपाल चेम्बर अफ कमर्सले पनि सोहीअनुसार विधान संशोधन गरी गाउँं, नगर, जिल्ला र प्रदेश चेम्वर अफ कमर्स बनाएको जानकारी दिंँदै अब चेम्बरले स्थानीयस्तरसम्म बृहत् आर्थिक बहस कार्यक्रम शुरू गर्ने र सरकारी निकायसँग समन्वय गरी अगाडि बढ्ने योजना रहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्