ललित अन्तर्राष्ट्रिय व्यापार मेला शुरू



नेपाल समाचारपत्र
ललितपुर
ललितपुर उद्योग वाणिज्य संघको ५०औं स्थापना दिवस तथा स्वर्ण जयन्तीको अवसरमा पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैंचामा पाँच दिने ललित अन्तर्राष्ट्रिय व्यापार मेला शुरू भएको छ।

मेला प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुभयो। सो अवसरमा मुख्यमन्त्री पौडेलले प्रदेश नम्बर ३ मा आर्थिक विकास गर्न लगानीमैत्री वातारण, निर्यात बढाउने र औद्योगिक र भूउपयोग नीति कडाईसाथ लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री पौडेलले १३ जिल्ला रहेको प्रदेश नम्बर ३ लाई समृद्धि प्रदेशको रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। काठमाडौं उपत्यका प्रदेश नम्बर ३ को सांस्कृतिक वैभव र सम्पदाको धरोहरका रूपमा लिइएको पनि उहाँको भनाइ रहेको छ।

सो अवसरमा संघका अध्यक्ष कृष्णलाल महर्जनले ३ नम्बर प्रदेशले समग्र राष्ट्रकै आर्थिक, सामाजिक समृद्धिको अगुवाई गर्न सक्ने बताउनुभयो। उहाँले भन्नुभयो–‘यसमा अनेकौं चुनौतीहरू छन्। तर, यहाँ सम्भावना पनि प्रशस्त रहेको छ। सरकार र निजी क्षेत्रको सहकार्यमा आर्थिक, सामाजिक समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ।’अध्यक्ष महर्जनले भन्नुभयो–‘विकास, निर्माण कार्य सञ्चालन गर्न सरकारलाई बढीभन्दा बढी राजस्वको आवश्यकता पर्दछ। विद्यमान संरचनाबाट थप राजस्व जुटाउनेतर्फ लाग्नुभन्दा बढीभन्दा बढी स्रोत परिचालन हुन सक्ने नयाँ–नयाँ बृहत् परियोजनाको सञ्चालनमा क्रियाशील हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ।’

सीप तथा कौशलको विकास र संरक्षण गर्ने मात्र होइन कलाकारले त्यसको उचित लाभ लिन सक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले सीप हस्तान्तरण गर्ने वातावरणका लागि पनि सरकार एवम् निजी क्षेत्रको संयुक्त पहलमा समग्र जिल्लालाई नै हस्तकला क्षेत्रका रूपमा घोषणा गर्नुपर्ने बताउँदै भन्नुभयो–‘हस्तकलाको प्रवद्र्धन गरी ललितपुर नमूना हस्तकला ग्राम निर्माणका लागि सरकारको ध्यानाकृष्ट गराउनुपर्छ। हस्तकला ग्रामको सञ्चालनले यस ललितपुर जिल्लालाई पर्यटन प्रवद्र्धनका विस्तार हुनेछ भन्ने विश्वास लिएको छु। ’

अध्यक्ष महर्जनले भन्नुभयो–‘पर्यटन प्रवद्र्धनको साथै निर्यातमा पनि राष्ट्रिय, अन्तर्राष्ट्रिय उत्पादनको लागि आधुनिक एवम् व्यवस्थित किसिमको प्रदर्शनी हुनु जरुरी छ। सो केन्द्रलाई सरकार र निजी क्षेत्रको सहकार्यको एउटा नमूनाको रूपमा निर्माण हुन सकोस्।’ सो कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, संघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी, महासचिव मनोजबहादुर न्याछ्योंलगायतले बोल्नुभएको थियो। मेलामा पाकिस्तान, बंगलादेश र भारतका २२ र स्वेदशी ५८ गरी ८० वटा स्टल रहेको छ।

प्रतिक्रिया दिनुहोस्