नङसलले जितिन् उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
नङसल तामाङले १४औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत महिला सिंगल्सतर्फ उपाधि जितेकी छन्। सशस्त्र प्रहरी बल, हल्चोकको ब्याडमिन्टन कोर्टमा बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी नङसलले सोही क्लबकी रसिला महर्जनलाई हराएर उपाधि हात पारेकी हुन्। उनले सो खेल जित्न २१–१९, १९–२१, २१–१९ को तीन सेटमा संघर्ष गर्नुपर्यो। पहिलो पटक फाइनल खेलेकी रसिलाले दोस्रो सेट जितेर नङसललाई चुनौती दिएकी थिइन्।

नङसल प्रतियोगितामा दोहोरो उपाधि जित्न निकट रहेकी छिन्। महिला युगलतर्फ नङसल र अनुमाया राईको जोडीले झापाका जेसिका गुरुङ र सुनेना मुखियाको जोडीलाई २१–१४, ११–२१, २१–१८ ले हराएर फाइनलमा पुगेको छ। अर्को सेमिफाइनलमा खेलमा एपीएफका पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका रसिला महर्जन र अमिता गिरीको जोडीलाई २१–११, २१–१९ ले हरायो।
यस्तै पुरुष एकल सिंगल्सतर्फ नेपाल एपीएफ क्लबका दिपेश धामी र आर्मीका रत्नजित तामाङले फाइनलमा स्थान सुरक्षित गरेका छन्। हिजो भएका सेमिफाइनल खेलमा दिपेशले आर्मीका नवीन श्रेष्ठलाई २१–१६, २१–१६ ले सहजै पराजित गरेका थिए। त्यस्तै रत्नजितले पनि दार्चुलाका प्रिन्स दाहाललाई २१–१७, २१–१० ले हराएका थिए।

जितेन्द्र र प्रणव फाइनलमा
१०औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष सिंगल्सतर्फ जितेन्द्र परियार र प्रणव खनाल फाइनलमा पुगेका छन्। ललितपुरका जितेन्द्रले आफ्नै जिल्लाका सन्तोष खत्रीलाई ६–२, ६–३ ले हराए। त्यस्तै आर्मीका प्रणव खनालले पोखराका प्रदीप खड्कालाई ६–०, ४–६, ७–५ ले हराउँदै कठिन जित हात पारेका थिए। यसअघि महिला सिंगल्सतर्फ राणा दिदीबहिनी मायांका र माहिकाले फाइनलमा पुगेर उपाधि आफ्नै घरमा लाने पक्का गरेका छन्। दुबै खेलाडी नेपाल पुलिस क्लबसँग आबद्ध छन्।

यस्तै ३५ वर्षमाथि भेन्ट्रान्स सिंगल्सतर्फको उपाधि काठमाडौंका रोहित सुनुवारले जित्दा ६५ वर्षमाथि भेन्ट्रान्स सिंगल्सतर्फ काठमाडौंकै ज्ञानेन्द्रमान ताम्राकार पहिलो भए। ५५ वर्षमाथि भेन्ट्रान्स सिंगल्सतर्फको उपाधि मकवानपुरका कमल थापाले जितेका थिए।

पुलिस र न्यु डायमन्ड सेमिफाइनलमा
नेपाल पुलिस क्लब र शिवम् न्यु डायमन्ड एकेडेमी हल्चोकमा जारी सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन्। पुलिसले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौंलाई २५–९, २५–३, २५–१९ ले हराएको थियो। विजेता टोलीकी कामना विष्ट प्लेयर अफ द म्याच भइन्। त्यस्तै न्यु डायमन्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३, २५–१० ले पराजित गर्यो। विजेता टोलीकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भइन्। यसअघि त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब अन्तिम चारमा पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्