बुझाउने कसले ?



दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिएकी छिन्। प्रधानन्यायाधीश गोपाल पराजुलीबाट भण्डारीले शपथ लिएकी हुन्। शपथ गराउन पराजुली योग्य हुन् या होइनन् भन्ने ठूलो चर्चाका बीच भण्डारीको नियुक्तिले औपचारिकता पाएको छ।

शपथ शुरू हुनुभन्दा केही समयअघि मात्रै पराजुली बर्खास्त भएको खबर एक कान दुई कान मैदान भयो। शपथ ग्रहण कार्यक्रममा पुगेका धेरै पाहुनाले कानेखुसी गरे। ‘अब के हुन्छ, कसो हुन्छ भन्दै उनीहरूले खुसुखुसु गरेको देखियो। तर यस्तो खबर पराजुलीको कानमा पुगेन क्यार कार्यक्रम सहज रूपमा सम्पन्न भयो।

विभिन्न जन्ममिति सार्वजनिक भएर चर्चामा आएका पराजुली गत साउनमै अवकास पाइसकेका न्याय परिषद् सचिवालयले जनाएको छ। अब त्यसो भए, भण्डारीले लिएको शपथ वैधानिक हो कि, अवैधानिक धरहरा निकै दुविधामा पर्या छ।

अनि पराजुलीले साउनयता सुनाएका फैसला र गरेका काम कारबाहीलाई चाहिं अब के भन्ने होला ? लौन शहरका विद्वान् मित्रले बुझाउनुपर्यो। राष्ट्रपतिकै निर्वाचनका सवालमा पनि धरहराले बुझ्न सक्या छैन। जान्ने बुझ्नेहरू भन्छन्– ‘राष्ट्रपति पदमुक्त नभएर शीतल निवासबाटै उम्मेदवारी दिएर चुनाव लडेपछि के भन्ने र खै ?’ जान्ने बुझ्नेहरू त उत्तरको खोजीमा छन् भने धरहरालाई बुझाउने चाहिं कसले ?

प्रतिक्रिया दिनुहोस्